काठमाडौं । भारतीय धनाड्य मुकेश अम्बानीले गौतम अडानीलाई पछाडि पारेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२३ अनुसार यसअघि धनीको सूचीमा अगाडि रहेका गौतम अडानीलाई मुकेश अम्बानीले पछाडि पारेका हुन् ।
नयाँ सूचीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीयको उपाधि हासिल गरेका हुन् । हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ । हुरुन इन्डियाले १२ भारतीय धनाड्यको सूची सार्वजनिक गरेको हो ।
मुकेश अम्बानीको सम्पत्ति चार गुणाले बढेको देखिएको छ । सन् २०१४ मा १६५,१०० करोड भारतीय रुपैयाँबाट बढेर २०२३ मा ८०८७०० करोड भारतीय रुपैयाँ पुगेको छ । गत ९ वर्षमा अम्बानीको सम्पत्ति चार गुणाले बढेको रिपोर्टमा उल्लेख छ ।
गौतम अडानी भारतीय धनाड्यको दोस्रो नम्बरमा झरेका छन् । उनी ४७४८०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहति दोस्रो नम्बरमा झरेका हुन् । योसँगै सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनवाला २७८५०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहित तेस्रो स्थानमा छन् ।
यस्तै, एचसीएलका शिव नाडर २,२८,९०० करोडको सम्पत्ति सहित चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १,७६,५०० रुपैयाँ बराबरको सम्पत्ति सहित पाँचौ स्थानमा छन् । सन फार्मास्युटिल इन्डस्ट्रीका संस्थापक दिलिप सांघवी १६४३०० करोडको सम्पत्ति सहित छैटौं स्थानमा छन् ।
भारतीय धनाड्यको पहिलो स्थान ओगटेका अम्बानीले सन् १९६६ मा टेक्सटाइल मिलको स्थापना गरेर व्यवसायिक जीवन अगाडि बढाएका थिए । त्यही मिलले नै उनको जीवन परिवर्तन गरिदियो ।
पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।