काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले व्याजदर घटाएसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ ।
सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक सोमबारको तुलनामा १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।
बजारमा परिसूचक बढेपनि कारोबार भने घटेको छ । अघिल्लो दिनको बजारमा एक अर्ब २५ करोडको भएको कारोबार मंगलबार भने एक अर्बमा सीमित भएको छ ।
बजारमा हाथवे कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने २६.५० रुपैयाँले घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको छ । जुन प्रतिशतको आधारमा सबैभन्दा बढी अर्थात ८.५३ प्रतिशतले घटी हो ।
बढेको बजारमा नेपाल इन्भेष्टमेन्ट प्रगति फण्डको इकाइ मूल्य ७.३५ प्रतिशतले बढेको छ । जसको प्रतिइकाई मूल्य ९.२० रुपैयाँ छ ।
मंगलबारको बजारमा अधिकांश समूह हरिया देखिएका छन् भने तीन समूह राताम्मे देखिएका छन् । जसमा होटल एण्ड टुरिजम, निर्जीवन बीमा र ट्रेडिङ्ग समूह रहेका छन् । जुन क्रमशः १३.०८, ५१.६० र ३४.४० अंकले घटेका छन् ।
मंगलबार मात्रै १४ वटा वाणिज्य बैंकहरुले कार्त्तिकमा व्याजदर घटाएका छन् । त्यस्तै, ४ बैंकले असोज महिनाकै व्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन् ।
नेपाल एसबिआई र एनएमबि बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ दुबै बढाएका छन् भने माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकले भने असोजकै व्यक्तिगततर्फ र संस्थागततर्फ दुबैको व्याजदरलाई कायम राखेका छन् । बाँकी १४ वटा कम्पनीले भने असोजको तुलनामा कार्त्तिकमा ब्याजदर घटाएका छन् ।
सम्बन्धित समाचार