
फाइल फोटो
कञ्चनपुर । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ ।
अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताए । ‘चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, उनले भने ।
चाडबाडको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीले बताए । ‘बजारमा भीडभाड बढेकाले व्यापार हुने आशा छ’, उनले भने- ‘अरु समयभन्दा चाडबाडमा बढी व्यापार हुने गर्छ ।’
गाउँ सहरमा दशैं तिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका घर फिर्ती भएका छन् । चाडबाडको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडबाडले चलायमान बनाउने व्यापारीको विश्वास छ ।
बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताए । ‘चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ’, उनले भने- ‘व्यापार खस्किँदै गएको छ ।’
कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धरासायी भएको उनको भनाइ छ । घर बाहिर रहेकाहरु आफू रहेको ठाउँमै चाडबाड मनाउन थालेपछि बजारमा चहलपहल घटेको अध्यक्ष जोशीले बताए ।
‘भारत तथा विदेशमा रहेका पनि चाडबाड त्यतै बनाउन थाले, त्यसैले पुख्र्यौली थातथलोमा चहलपहल विगतको तुलनामा निकै कम छ’, उनले भने- ‘महङ्गाइ पनि निकै बढेको छ, त्यसैले पनि विगतको जस्तो व्यापार छैन ।’
नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन् । रासस