काठमाडौं । सेयर बजारमा अत्याधिक गिरावट रहेको समयमा दर्जनौ कम्पनीले सेयर निष्काशन गरिरहेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन भैसकेको छ भने ४२ अर्ब ९० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन प्रक्रियामा रहेको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सबैभन्दा धेरै बैंकहरुको ऋणपत्र निष्काशन हुँदैछ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराईज बैंक लगायतले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि स्वीकृति माग गरेका छन् । उनीहरुले ९ देखि १०.५० प्रतिशतसम्मको व्याज दिने प्रस्ताव गरेका छन् ।
त्यस्तै ११ वटा कम्पनीले ११ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्दैछन् । हकप्रद सेयर निष्काशनसँगै विद्यमान सेयरधनीलाई थप लगानी गर्न दवाव पर्नेछ । यस अवस्थामा लगानीकर्ताले आफूसँग भएको सेयर बेचेर हकप्रद सेयर किन्ने भएकोले दोस्रो बजारमा सेयर बिक्रीको चाप बढ्ने जानकारहरु बताउँछन् ।
त्यस्तै, ४ अर्ब ७० करोडभन्दा बढी मूल्यको साधारण सेयर निष्काशन हुँदैछ । त्यसमा रिलाइन्स् स्पीनिङ मिल, जगदम्बा स्टील, डिस होम, आईएमई लगायत राम्रो कम्पनीहरुको सेयर पनि निष्काशन हुँदैन ।
केही कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न प्रस्ताव गरेका छन् । जगदम्मा स्टीलले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्दैछ भने रिलाइन्सले प्रतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म प्रिमियम मूल्य थप गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेस गरेको छ ।
त्यस्तै विभिन्न कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्यूचल फण्ड निष्काशन गर्ने भएका छन् । केही कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ बराबरको एफपीओ पनि जारी गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग गरेका छन् ।
कम्पनीहरुको माग सम्बन्धमा अध्ययन गरेर सकेसम्म छिटो स्वीकृत प्रदान गरिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । ‘प्रक्रिया पूरा गरेर धितोपत्र निष्काशनको लागि माग भएका सबैलाई छिटोभन्दा छिटो स्वीकृति दिदै जानेछौं । कुनै पनि वहानामा कुनै पनि कम्पनीको फाइल रोकेका छैनौं, रोक्दा पनि रोक्दैनौं’ हमालले भने ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३४ अर्ब भन्दा बढी मूल्यको धितोपत्रहरु निष्काशनको लागि स्वीकृति दिईसकेको बोर्डले प्रक्रियामा रहेकालाई पनि छिटो स्वीकृति दिने जनाएको छ । यस वर्ष मात्र २० अर्ब ६६ करोडको साधारण सेयर, १ अर्ब १० करोडको हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।
त्यस्तै ८ अर्ब रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको म्यूचूलफण्ड, १ करोड २३ लाखको एफपीओ निष्काशन गर्न बोर्डले स्वीकृत दिएको छ । यसै वर्ष मात्र विभिन्न कम्पनीले १ अर्ब ८६ करोड भन्दा बढीको बोनस सेयर निष्काशन गरिसकेको धितोपत्र बोर्डले जनाएको छ ।
सेयर बजारमा उच्च गिरावट भएको बेलामा धेरै सेयर आपूर्ति हुँदा बजारमा दुर्घटना (क्र्यास)को जोखिम उच्च हुने लगानीकर्ताहरुको विश्लेषण रहेको छ । तर बोर्डले भने प्रक्रिया पूरा गरी सेयर निष्काशन माग गर्ने कम्पनीलाई रोक्न नसकिने जनाएको छ ।