काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको एफपीओ आज कात्तिक १६ गते बिहीबारका दिन बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । त्यसैले १२ हजार ३८१ जना लगानीकर्ताले लघुवित्तको १० कित्ता सेयर प्राप्त गरेको नेपाल एसबीआई मर्चेन्टले बताएको छ । साथै, ६.४५ कित्ता सेयर बाँकी रहेकाले ६ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ जनाले ०.४५ कित्ता सेयर प्राप्त गरेका छन् ।
लघुवित्तको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ ।