
एजेन्सी । भारत केन्द्र सरकारको हस्तक्षेपपछि नयाँदिल्लीको बजारमा प्याजको मूल्य घट्न थालेको छ । बुधबार दिल्लीको ओखला मन्डीमा प्याजको खुद्रा मूल्य लगभग २५ प्रतिशतले घटेर किलोको ५६ देखि ६० रुपैयाँमा काराेबार भइरहेकाे छ।
महाराष्ट्रको बजारमा पनि प्याजको भाउ घट्न थालेको छ । तर, राजस्थान र मध्यप्रदेशजस्ता धेरै राज्यमा प्याजको मूल्य उच्च छ । प्याजको नयाँ स्टक बजार आएपछि आगामी दिनमा मूल्य घट्ने अनुमान गरिएको छ ।
गत साता प्याजको भाउ निकै बढेको थियो । तर, बुधबार प्याजको भाउ घटेपछि उपभोक्ताले राहत महसुस गरेका छन् । दिल्लीमा अक्टोबर २४ र २५ का बीचमा प्याजको भाउ अचानक बढ्न थालेको थियो र दुई दिनअघि प्रतिकिलो ८० रुपैयाँ पुगेको थियो।
अबको केही दिनमा प्याज प्रतिकिलो ५० रुपैयाँ पुग्ने अनुमान छ। आपूर्ति घटेकाले गत साता प्याजको भाउ बढेको थियो ।
गत साता प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेपछि बजारमा प्याज कारोबारमा नकारात्मक असर परेको थियो । त्यसले गर्दा प्याजको बिक्री पनि घटेको छ । प्याजको नयाँ स्टक बजार आएपछि आगामी दिनमा भाउ अझै घट्ने अपेक्षा व्यापारीहरूले गरेका छन् ।
भारतीय खाद्य मन्त्रालयका अनुसार महाराष्ट्रको बजारमा पनि प्याजको भाउ घट्न थालेको छ । तर, राजस्थानको बजारमा प्याजको मूल्य भने उच्च छ ।
जयपुरको मुहाना क्षेत्रमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम छ । मध्यप्रदेशको बडवानीमा पनि प्याजको भाउ ७० रुपैयाँ प्रतिकिलो कायम छ भने विदिशामा पनि ६० देखि ७० रुपैयाँमा प्याज बिक्री भइरहेको छ ।
विदिशा क्षेत्रका साना व्यापारीले थोक व्यापारीले प्याजको कालोबजारी गरेको आरोप लगाएका छन् । कृषकले प्याज बजार ल्याउन ढिलाइ गर्नु नै मूल्य बढ्नुको प्रमुख कारण रहेको थोक व्यापारीहरूले बताएका छन् ।