काठमाडौं । दोस्रो बजारमा हाइड्रोपावर (जलविद्युत्) कम्पनीहरु थपिनेक्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार सूचीकृत ८७ वटा जलविद्युत् कम्पनीको सेयर कारोबार भइरहेको छ ।
नेप्सेमा जलविद्युत् कम्पनीको बाहुल्यता बढ्दै गएपनि प्रतिफल वितरणमा भने पछि पर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्पन्न भएको ४ महिना भइसक्यो । तर, हालसम्म सूचीकृत २ वटा जलविद्युत कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
सानिमा माइ हाइड्रोपावर र माण्डु हाईड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २३ गतेका दिन १२ औं वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै, माण्डु हाईड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते ठमेल काठमाडौंमा १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।