काठमाडौं । नेपाल टी-२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी-२० नेपाली क्रिकेट टोलीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरुप खेलाडीलाई उक्त जीवन बीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो ।
टी-२० विश्वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने कम्पनीले जनाएको गरेको छ ।
यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
नेपाली क्रिकेट टोलीलाई टी-२० विश्वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।