काठमाडौं । लाभांश घोषणा गरेकै दिन नबिल बैंकको सेयर मूल्य ओरालो लागेको छ । सेयर बजार खुलेदेखि पौने १ बजेसम्म कारोबार हेर्दा बैंकको सेयर मूल्य ८.४८ प्रतिशत अर्थात् ५० रुपैयाँ घटेको हो ।
१२ बजेर ४५ मिनेटसम्मको तथ्याङ्क हेर्दा बैंकको सेयर मूल्य ५१३.४० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सबैभन्दा धेरै कारोबार हुने र टप लुजर कम्पनीमा नबिल बैंक अग्रस्थानमा छ ।
पछिल्लो विवरण अनुसार बैंकको १ लाख ३० हजार ६०२ कित्ता सेयर १ हजार ६९० पटक खरिदबिक्री हुँदा ६ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकको सेयर ५६१ रुपैयाँमा खुलेको थियो । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्य घट्न थालेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।