काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने छ । नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्नको लागि एनसेल सरकारलाई योगदान पुर्याउँन प्रतिवद्ध रहेको हो ।
स्पेक्ट्रलाइट यूकेका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले भने आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको बताए ।
‘आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ,’ सेयरधनी सतिशलाल आचार्यले भने ।
सेयरधनी आचार्यका अनुसार एनसेल सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ । जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने उनले बताए । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने आचार्यको विश्वास छ ।
आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको बताएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने र यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिवद्ध रहेको उसको भनाई छ ।
अन्य आवश्यक सहमतिहरुका लागि एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको बताएको छ ।
एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने एनसेलले बताएको छ । र, एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न एनसेल प्रतिवद्ध छ ।
त्यस्तै, एनसेलले मोवाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरु प्रदान गर्न नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने बताएको छ । जसले देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना गर्ने छ ।