वैदेशिक व्यापारमा संकुचन : निर्यातमा ७.७ र आयातमा ३.८ प्रतिशतले कमि

<p>काठमाडौं ।  आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५७ करोड बराबरकाे आयात भएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा [&hellip;]</p>

काठमाडौं ।  आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५७ करोड बराबरकाे आयात भएकाे छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५१२ अर्ब ५० करोड रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४२ अर्ब ६९ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.६ प्रतिशत र ४४.१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.६ प्रतिशत, ०.०२ प्रतिशत र ४५.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.० प्रतिशत, ८.३ प्रतिशत र ३८.७ प्रतिशत रहेका थिए ।

निर्यात–आयात मूल्य सूचकाङ्क

वार्षिक विन्दुगत आधारमा २०८० कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ । २०८० कात्तिक महिनामा व्यापारको शर्त ७.७ प्रतिशतले बढेको छ ।

Share News