हस्तकला व्यापार मेला सुरु, लाखौं मूल्यका सामग्री प्रदर्शनीमा 

<p>काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ । महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे [&hellip;]</p>

काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ ।

महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । उद्घाटनका क्रममा पौडेलले विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा हस्तकला रहेकोले यसको प्रवर्द्धन गर्न अपरिहार्य रहेको बताए ।

‘नेपाली हस्तकलाका सामग्री निर्यात गर्न सरकारको सहयोग पनि व्यवसायीलाई आवश्यक छ, परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ, त्यसैले युवा पुस्तालाई पनि यसको सीप दिन जरुरी देखिन्छ,’ उनले भने ।

नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ । यस्तै, महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मेलाबाट हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने बताए । उनका अनुसार हाल नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ ।

 

मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको पनि शाक्यले बताए ।

मेलामा ३ वटा प्याभिलियनसहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । लाखौं मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकका लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ ।

यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको हो ।

Share News