मन्त्रिपरिषद्बाट स्वीकृत भयो राष्ट्रिय बीमा नीति, बीमाको पहुँच सरकारदेखि भुइँ मान्छेसम्म पुग्ने

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति स्वीकृत भएको बताएका छन् । उनले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताएका हुन् । &#8216;प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ, यसले बीमा क्षेत्रको विस्तार र विकास सहयोग पुग्ने छ, यो बीमा क्षेत्रको लागि [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति स्वीकृत भएको बताएका छन् । उनले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताएका हुन् ।

‘प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ, यसले बीमा क्षेत्रको विस्तार र विकास सहयोग पुग्ने छ, यो बीमा क्षेत्रको लागि कोसेढुंगा सावित हुन्छ,’ उनले भने ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस कार्यक्रमले प्राधिकरण र पत्रकारबीच सही ढंगले सहकार्य गर्ने आधार तय भएको उनले बताए । बीमा सम्बन्धी समसामयिक विषयमा धारणा विकास गर्न पत्रकारको सहयोग पुग्ने पनि उनको भनाइ छ ।

यसैगरी बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको उनले जानकारी दिए । बीमा नियमावली स्वीकृत भएपछि बीमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने उनले बताए ।

बीमासम्बन्धी सरोकारवाला व्यक्ति र नाफिजमा आबद्ध पत्रकारहरूको उपस्थितिमा शुक्रबार काठमाडौंको छैमलेमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्ने वक्ताहरूले बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्ने बताएका छन् । साथै, बीमा कम्पनीहरूले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्ने र प्राधिकरणले नीतिगतरूपमा सहजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । बीमा विस्तार गर्ने मामिलामा प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।

यसैगरी बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्ममा पुग्नुपर्ने उनले बताए । त्यसको लागि पनि पत्रकार र बीमा क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।

‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्तिलगायत दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबैभन्दा बढी आवश्यकता भुइँ मान्छेहरूलाई छ । उनीहरूलाई बीमाको दायरामा ल्याउने काम हामीले गर्नुपर्छ,’ उनले बताए ।

यसैगरी पत्रकारले तथ्यमा आधारित समाचार लेख्नुपर्ने उनको भनाइ छ । आग्रह तथा पुर्वाग्राहमा आधारित भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए ।

यस्तै, नाफिजका अध्यक्ष मोदनाथ ढकालले बीमा सचेतना बढाउन नाफिज सहकार्य गर्न तयार रहेको बताए । प्राधिकरण, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ सहकार्य गरेर बीमा जागरण बनाउन नाफिज तयार रहेको उनको भनाइ छ ।

‘हामीले यसअघि पुँजीबजार सम्बन्धी जागरण विस्तार गर्न प्रदेशगतरूपमा काम गरिसकेको छौं । अब बीमा सम्बन्धी सचेतना जगाउन पनि सहकार्य गर्न तयार छौं,’ उनले बताए ।

यस्तै, उनले आर्थिक पत्रकारहरूको क्षमता विकास गर्न र कल्याणकारी काम गर्न नाफिज स्थापना भएको बताए । ‘नाफिज ३०० भन्दा कम आर्थिक पत्रकारहरूको संस्था हो । यो ट्रेड युनियन भन्दा पनि आर्थिक पत्रकारहरुको क्षमता विकास गर्ने र कल्याणकारी काम गर्ने गरी यो स्थापना भएको हो,’ उनले भने, ‘सोहीअनुसार पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम जस्ता कार्यक्रम गर्दै आएका छौं । कल्याणकारी तर्फ पहिलोपटक सदस्यहरुको कोरोना बीमा गरिएको थियो । अब नाफिज सदस्यहरुको स्वास्थ्य र दुर्घटना बीमा गर्ने तयारीमा छौं ।’

यस्तै, उनले पत्रकारहरूले पढ्ने बानीको विकास गर्नुपर्ने बताए । पत्रकारले अध्ययन गरेमा सरोकारवाला निकाय र व्यक्तिलाई सही समयमा सही प्रश्न गर्न सकिने उनको भनाइ छ । ‘पत्रकारलाई एकदमै छिटो एकदमै सही समाचार प्रसारण गर्नुपर्ने दवाव छ । यद्यपि, त्यसमा समयमा कम्परमाइज गर्न सकिन्छ,’ उनले भने, ‘सही समाचार दिने बिषयमा कम्परमाइज गर्न हुँदैन ।’

त्यसैगरी नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अब विद्यार्थीहरूबाट बीमासम्बन्धी चेतना बढाउने काम गनुपर्ने बताए । त्यो मोडेलमा अघि बढे तल्लो स्तरबाटै बीमाको पहुँच विस्तार हुने उनले बताए ।

‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरूले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठुलो सहयोग पुग्छ,’ उनले भने, ‘बीमाका लागि व्यावसायिक बजार पनि ठूलो छ । अब बीमा जागरणसँगै इनोभेटीभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ । त्यसका लागि हामी नाफिजसँग सहकार्य गर्न तयार छौं ।’

यस्तै, निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि यस कार्यक्रमले बीमा जागरण विस्तार गर्न ठुलो सहयोग पुग्ने बताए । ‘पत्रकारको एउटा धर्म स्पष्टरूपमा सही सूचना दिनु पनि हो । यो कार्यक्रमले पत्रकारहरुमा बीमासम्बन्धी ज्ञान अझै बढेको र त्यसले गर्दा समाजमा बीमाबारे सही सूचना जाने अपेक्षा छ,’ उनले भने, ‘साथै, हामी नाफिजसँग सहकार्य गरेर बीमा सचेतना बढाउने काम गर्न तयार पनि छौं ।’

Share News