काठमाडौं । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो-२०२३’ मा नयाँ कीर्तिमान रचिएको छ ।
शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबार पनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका छन् ।
आयोजकका अनुसार एक्स्पोमा अर्गानिक फलफूल र खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामान, चियापत्ति, कार्पेट, पाइप, टायर, अन्तर्राष्ट्रिय स्टल, खाद्यान्न, साबुन सर्फ, उन्नत जातको विउ र भुरा माछा, अटोमोबाइल्स पाइने स्टलमा अत्याधिक भीड देखिएको छ ।
एक्स्पोमा प्रविधिको भरपुर उपयोग गरिएको छ। पहिलोपल्ट डिजिटल परिचयपत्र लागु गरिएको छ । क्यू आर कोडको माध्यमबाट परिचय पत्र सक्कली हो की नक्कली हो भने तुरून्तै जानकारी पाइने व्यवस्था गरिएको छ ।
उत्पादनकर्तालाई स्टल छान्ने सुविधापनि डिजिटल माध्यमबाट नै प्रदान गरिँदा स्टल व्यवस्थापन खासै कठिन भएन ।
छानी-रोजी गुणस्तरीय सामान किन्न पाइने हुँदा एक्स्पोमा सर्वसाधारणको अत्याधिक रूची देखिएको हो । मनोरञ्जन र खानाका विविध परिकार पाइने स्टलका कारणपनि एक्स्पोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो ।
पुस ६ गतेदेखि ११ गतेसम्म सञ्चालनमा रहेको एक्स्पोको म्याद बढाउन पनि सर्वसाधारणले दबाब दिन थालेका छन् । संघका अध्यक्ष नवीन रिजालले सोमबार एक्स्पोको समापन हुने बताए । उनले व्यवस्थापकीय र प्राविधिक कठिनाई रहेकोले एक्स्पोको म्याद लम्ब्याउन नसकिने बताए ।
सोमबार एक्स्पोको समापन गरिए पनि यस दिन बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म सदाझैं चल्ने अध्यक्ष रिजालले बताए ।