बेवारिसे अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको ढुंगेधारा (फोटो फिचर)

<p>काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तयार भएको ढुंगेधाराको अवस्था नाजुक बनेको छ । धाराको संरक्षण नहुनु तथा अधिकांश संरचनामा खिया लागेसँगै उक्त धारा भत्कने अवस्थामा पुगेको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् धारो सञ्चालनमा आएको थियो । निकै [&hellip;]</p>

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तयार भएको ढुंगेधाराको अवस्था नाजुक बनेको छ । धाराको संरक्षण नहुनु तथा अधिकांश संरचनामा खिया लागेसँगै उक्त धारा भत्कने अवस्थामा पुगेको हो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् धारो सञ्चालनमा आएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ढुङ्गेधाराको उद्घाटन गर्दै गरेको दृश्य

निकै तामझामका साथ वि.सं. २०७७ चैत २० गते भण्डारीले उद्घाटन गरेको ढुंगेधारा तीन वर्ष नपुग्दै जीर्ण बन्न पुगेको हो । ढुंगेधाराको मर्मतका लागि मेलम्ची खानेपानी आयोजनाको शाखालाई पहल गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

‘मेलम्चीको पानी नै काठमाडौंमा हाल नआएकाले ढुंगेधारामा पानी आउन छाडेको हो, त्यसको मर्मतका लागि हामीले पहल गरिरहेका छौं, तर मर्मत चाहिँ हुन सकेको छैन,’ उनले भने ।

मेलम्चीको पानी आउँदा २४औं घण्टा धाराबाट पानी वितरण गर्ने लक्ष्य राखी धारा निर्माण गरिएको थियो । तर, धारामा पानी आउन थालेकाे केही महिनापछि नै ढुंगेधाराबाट पानी आउन  छाडेको थियो । प्राविधिक समस्याका कारण पानी नआएको राईले बताए ।

सबै सर्वसाधारणको पहुँच पुग्ने ठाउँ भृकुटीमण्डप नै भएकोले त्यहाँ ढुंगेधारा निर्माण गरिएको थियो । ‘त्यो धारामा डेडिकेटेड लाइनबाट पानी जोडिएको छैन, शाखा लाइनबाट पानी जोडिएको छ,’ उनले भने, त्यसैले पानी आए पनि धारामा चाैबिसै घण्टा पानी दिन सम्भव नहुन पनि सक्छ ।’

लाखौं रुपैयाँ रकम खर्च गरेर बनाएको ढुंगेधारा अहिले बेवारिसे अवस्थामा देख्न सकिन्छ ।

Share News