काठमाडौं । सुनचाँदी रत्न तथा आभूषण महासङ्घका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले सुनचाँदी रत्न तथा आभूषणको व्यापार गर्न सहज नभएको बताएका छन् । कर्णाली सुनचाँदी रत्न तथा आभूषण सङ्घद्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित तेस्रो साधारणसभा तथा दोस्रो प्रदेश महाधिवेशनमा बोल्दै उनले यो व्यवसाय निकै संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका हुन् ।
‘सुनचाँदी रत्न तथा आभूषणको व्यापार गर्न सजिलो छैन, बहुमूल्य धातु बेच्ने व्यवसायीलाई राज्यको सुरक्षा पनि छैन,’ उनले भने । अध्यक्ष श्रेष्ठले सरकारले व्यवसाय सुरक्षित र सुनिश्चित हुनेगरी अभिभावकत्व प्रदान गर्नुपर्ने धारणा राखे । सुनचाँदी रत्न, आभूषण र हस्तकला सङ्घ मर्ज हुन थालेको समेत उनले जानकारी गराए ।
महासङ्घका महासचिव नीरबहादुर विश्वकर्माले मानिसको जन्मदेखि मृत्युसम्म आवश्यक हुुने बहुमूल्य वस्तु सदियौँदेखि व्यवसाय गरिँदै आएपनि नियम परिधिभित्र रहेर काम गर्ने वातावरण राज्यले निर्माण नगरेको गुनासो पोखे । राज्यको उचित नियम नहुँदा व्यवसायीले विभिन्न खालका समस्या भोग्दै आएको महासचिव विश्वकर्माको टिप्पणी छ ।
महासङ्घका प्रदेश संयोजक मणिकिशोर पाण्डेले सुनमा एकरुपता ल्याउने नीति आवश्यक भएको जनाउँदै कर्णालीमा काइनाइट, क्वार्जजस्ता बहुमूल्य वस्तुको खानी भएको उल्लेख गरे ।
उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले विशिष्ट प्रकृतिको व्यवसायका लागि राज्यले उपयुक्त नीति र विधि ल्याउनुपर्नेमा जोड दिए । सुनचाँदीको कच्चा पदार्थ आयात गर्न कर्णालीका व्यवसायीका लागि असुविधा हुँदा व्यवसायी विस्थापित हुँदै गएको भन्दै अध्यक्ष कँडेलले राज्यले उनीहरूको जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले चोरीका सुन लिँदा व्यवसायीले ध्यान पुर्याउन सुझाए ।