प्रभु महालक्ष्मीको सेयर विवरण गलत, हुनै सक्दैन प्रभु बैंकको २१ अर्ब ९६ करोड लगानी

<p>काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक प्रतिवेदनमा गम्भीर त्रुटी गरेको भेटिएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा लगानीकर्ताहरू झुक्किन सक्ने गरी त्रुटीपूर्ण विवरण प्रकाशित गरिएको हो । कम्पनीले साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणहरूसहित एउटै वार्षिक प्रतिवेदनमा समावेश गरेर राखेको छ । तर, उक्त वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा प्रभु [&hellip;]</p>

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक प्रतिवेदनमा गम्भीर त्रुटी गरेको भेटिएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा लगानीकर्ताहरू झुक्किन सक्ने गरी त्रुटीपूर्ण विवरण प्रकाशित गरिएको हो ।

कम्पनीले साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणहरूसहित एउटै वार्षिक प्रतिवेदनमा समावेश गरेर राखेको छ । तर, उक्त वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा प्रभु बैंकले मात्र २१ अर्ब ९२ करोड रुपैयाँ सेयर लगानी गरेको देखिन्छ । जवकी प्रभु महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ मात्र रहेको छ ।

आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनको पृष्ठ नम्बर ५४ मा साविक प्रभु लाइफमा एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको सूची छ । उक्त तथ्याङ्क अनुसार इन्स्योरेन्स कम्पनीमा प्रभु बैंकको सबैभन्दा धेरै १० प्रतिशत अर्थात् २१ करोड ९६ लाख कित्ता सेयर छ । अंकित मूल्य १ सय रुपैयाँका दरले बैंकको सेयर स्वामित्व २१ अर्ब ९६ करोड रुपैयाँ हुन आउँछ । जबकी सोही  वार्षिक प्रतिवेदनमा  कम्पनीको पुँजी २ अर्ब १९ कराेड ६० लाख रूपैयाँ रहेको उल्लेख छ ।

कम्पनीले प्रभु बैंकको सेयर स्वामित्व मात्रै होइन, अन्य सेयरधनीहरूको तथ्याङ्क पनि गलत राखेको हो । कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंकको १९ करोड ५१ लाख, नेपाल इन्भेष्टमेन्टको १३ करोड ३७ लाख, प्रभु ग्रुपको १० करोड ९८ लाख, प्रभु म्यानेजमेन्टको ७ करोड ६८ लाख, प्रभु क्यापिटलको ५ करोड ४९ लाख, बिरटा कुमार श्रेष्ठको ३ करोड ८४ लाख, देवी प्रकाश भट्टचनको ३ करोड ८३ लाख कित्ता सेयर स्वामित्व रहेको तथ्याङ्क छ । कम्पनीको तथ्याङ्क अनुसार १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका १५ सेयरधनीसँग १ अर्ब ६ करोड २५ लाख ३४ हजार कित्ता सेयर रहेको गलत तथ्याङ्क उल्लेख गरेको हो । जसको अंकित मूल्य १ खर्ब ६ अर्ब २५ कराेड ३४ लाख रूपैयाँ हुन्छ ।

कम्पनीले यसपटक मात्रै होइन, विगतमा पनि गलत तथ्याङ्क प्रयोग गरेको भेटिएको छ । साविक प्रभु लाइफको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा पनि सेयरधनीहरूको सेयर स्वामित्व करोडौंमा राखेको उल्लेख छ ।

कम्पनीले त्रुटी गरेको उक्त विषय गम्भीर रहेको जानकारहरू बताउँछन् । अध्ययन तथा बिना सम्पादन उक्त तथ्याङ्क उल्लेख गरिएको बुझिन्छ ।

नेपाल बीमा प्राधिकरणले तोकेको ढाँचामा कम्पनीहरूले वार्षिक प्रतिवेदन तयार पार्नु पर्ने हुन्छ । कम्पनीले सोही ढाँचा अनुसार प्रतिवेदन तयार पारेको भएपनि त्रुटीपूर्ण तयार पारेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनको पृष्ठ नम्बर ५४ मा १ प्रतिशतभन्दा बढी सेयरधनीहरूको सूची छ । उक्त सूची साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको हुबहु कपि पेस्ट गरेर राखेको छ ।

कम्पनीका लेखा तथा वित्त विभाग प्रमुख लेखनाथ गौतमले प्रिन्ट मिस्टेक भएर यस्तो भएको हुन सक्ने बताए । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रकम हुनु पर्नेमा कित्ता भएको हुन सक्ने बताए ।  ‘रकम हुनु पर्ने होला, यदि सेयर भएको छ भने कहिलेकाहीँ मिस्टक भएको हुन सक्छ, प्रुफ रिडिङ गर्दा सबै ठिकै हुन्छ तर, कहिलेकाहीँ छपाउँदा मिस्टेक भएर आउन सक्छ,’ उनले भने ।

Share News