काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश भट्टराईले ७ महिना काम गरेर २० महिनाको तलब बुझेका छन् । उनले कम्पनी मर्जरपछि सात महिना काम गरेर २० महिनाको तलब बुझ्दै कम्पनीबाटै बाहिरिएका हुन् ।
गत असारमा साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेकाे थियाे । मर्जरपश्चात् साविक महालक्ष्मी लाइफका सीईओ भट्टराईले मर्जरपछि पनि सीईओको जिम्मेवारी पाएका थिए। तर, ७ महिना पुरा नहुँदै कम्पनीबाट बाहिरिएका उनले २० महिनाको तलब सुविधा बुझेका हुन् ।
कम्पनी स्रोतका अनुसार भट्टराईले १३ महिनाको तलब र सवारी साधन लिएर बाहिरिएका हुन् । भट्टराईले आगामी फागुन १ गतेदेखि अवकाश पाउने भनिएतापनि स्वेच्छिक अवकास सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् ।
‘उहाँले काम गर्नु भएको समयको तलब र अवकाशपछि १३ महिनाको तलब लिएर उहाँ कम्पनीबाट बाहिरिसक्नु भएकाे छ,’कम्पनी स्रोतले विकासन्युजसँग भन्यो, ‘मर्जरपछि नयाँ गाडी किन्नु भएको थिएन, साविक महालक्ष्मी लाइफ हुँदा किनेको गाडी लिएर जानु भयो, ५ वर्ष चलिसकेको गाडी अरु कसैले नचढ्ने भनेपछि उहाँले नै लिनु भयो ।’
भट्टराईले मासिक ७ लाख रुपैयाँ तलब बुझ्थे । ७ लाखका दरले २० महिनामा उनले १ करोड ४० लाख रुपैयाँ लिएको कम्पनी स्रोतको भनाइ छ ।
साथै, कम्पनीले अन्य कर्मचारीहरूका लागि माघ २५ गतेसम्म भीआरएस सुविधा खुला गरेको छ । कम्पनीले खुला गरेको भीआरएस सुविधामा आवेदन दिने संख्या बढिरहेको छ । भीआरएस सुविधाका लागि निवेदन दिने समय अझै ७ दिन बाँकी छ।
निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंका अनुसार कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा खुला गरिएको हो ।
‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो, दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए, धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ, त्यसैले भीआरएस सुविधा खुला गरिएकाे हो,’ उनले भने ।