काठमाडौं । पुँजी बजारमा सूचीकृत २४ वटा बीमा कम्पनीहरूमध्ये हालसम्म १३ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई प्रतिफल बाँड्ने भएका हुन् ।
जीवन बीमा कम्पनीतर्फ सिटिजन, रिलायबल र एशियन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्ट, नेपाल इन्स्योरेन्स, एनएलजी र यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश बाँड्ने भएका हुन् ।
गत वर्षको नाफाबाट जीवन बीमातर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल), हिमालयन लाइफ र निर्जीवनतर्फ नेको इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।
जीवन बीमा
सिटिजन लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।
रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते लिसरा ब्याङ्क्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद गरी कूल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
निर्जीवन बीमा
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस १३ गते सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले उक्त लाभांश पाति गरिसकेको छ ।
एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको छ ।