काठमाडौं । युनिलिभर नेपालको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ४२ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । पछिल्लो समय बजारमा खपत नै कम भएपछि वस्तु तथा सामाग्रहरू खपतमा कमी आइरहेको व्यवासयीहरू बताउँछन् । प्रिमियम मूल्यका वस्तुहरूको बिक्री घटेको र बजारमा तरलता अभाव देखिएको कम्पनीको भनाइ छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको बिक्री आम्दानी १६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २० करोड रुपैयाँ बढी बिक्री आम्दानी गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी १४.५० प्रतिशत घटेर १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ छ भने कुल खर्च १०.६९ प्रतिशत घटेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २८५.५६ रुपैयाँ घटेर ९१४.२२ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.७५ गुणा रहेको छ ।