काठमाडौं । बीमा क्षेत्रका अग्रज कृष्ण बहादुर (केबी) बस्न्यातको निधन भएको छ । बिहीबार साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले बतायो ।
८४ वर्षिया बस्न्यात पेटसँग सम्बन्धित रोगको उपचाररत थिए । उपचारकै क्रममा मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । उनका २ छोरा र १ छोरी छन् ।
५८ वर्षसम्म बीमा क्षेत्रमा काम गरेका बस्न्यातले पछिल्लो समय साविकको सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए । त्यसअघि उनी यूनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए ।
कलेजको अध्ययनपछि भारतको दी ओरियन्टल इन्स्योरेन्स कम्पनीबाट काम थालेका बस्न्यातले उक्त कम्पनीको शाखा नेपालमा खुलाउँदै नेपालमा बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका थिए ।
बीमा क्षेत्रको समग्र विषयमा गहिरो ज्ञान र नेतृत्व क्षमता भएकाले केबी बस्न्यातको नाम बीमा क्षेत्रमा सबैले सम्मानपूर्वक लिने गरेका थिए । २०४५ देखि २०७५ सम्मको करिब तीन दशकसम्म विदेशीहरुले समेत नेपालको निर्जीवन बीमाबारे जान्न केबी बस्त्यातलाई भेट्ने गरेको जानकारहरु बताउँछन् । वृद्ध अवस्थामा पनि उनको स्मरणशक्ति धेरै राम्राे थियाे ।