
काठमाडौं । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकोप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ ।
संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन् ।
‘म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु– यस किसिमको आकस्मिक सेवा यही राज्यबाट सुरु हुनेछ र त्यसका लागि हेलिकोप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,’ मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरे ।
सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकोप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ ।
यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकोप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ ।
यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उनले उल्लेख गरेका छन् । एजेन्सी