
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा कम्पनीहरुमा प्रिमियम लिने तर, भुक्तानी भने दिन नपरोस् भन्ने नियत देखिएको बताएका छन् । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले प्रिमियम लिएर भुक्तानी नगर्दा समस्या आउने बताए ।
‘बीमा कम्पनीलाई प्रीमियम लिन मात्रै परोस् दिन नपरोस् भन्ने नियत देखिएको छ, प्रीमियम लिएर दाबी भुक्तानी नगर्दा दीर्घकालीन समस्या निम्त्याउँछ । तत्काल भुक्तान दिन कम्प्रमाइज गर्नु हुँदैन’, उनले भने । उनले बढी बीमा शुल्क लिएको सन्दर्भमा ट्यारिफ र ननट्यारिफलाई खुला छोड्नुपर्ने बताए । ‘बजारले निर्धारण गरेको मूल्यलाई तोक्नु पर्छ, जोखिमभन्दा रेट बढि भयो भने समस्या आउछ’, उनले भने, ‘जोखिम नलिनका लागि बीमा गरिन्छ, जसलाई जोखिम परेको छ तेसलाई दाबी भुक्तानी गर्न ढिलाइ हुनुहुँदैन ।’
नेपालको उर्जाप्रतिको आकर्षण बढेको भन्दै उनले पछिल्लो समय जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताले पनि चासो देखाएको बताए । साथै २०४६ सालपछि जलविद्युत क्षेत्रले ठूलोफड्को मारेको भएपनि यस क्षेत्रमा समस्या रहेको अर्थमन्त्रीले बताएका छन् । वनसँग जोडिएका समस्या समाधानका लागि मन्त्रालयसङ्ग छलफल भैरहेको उनले बताए ।
क्षति भएका जलविद्युत कम्पनीलाई सामाग्री ल्याउदा कर छुटका लागि छलफल गर्ने भन्दै उनले क्षति भएका कम्पनीको सूची माग्दा क्षति नभएका समेत गरेर डेढ सय कम्पनीको सूची आएकाले छुट दिन नसकिएको बताए । साथै उनले जलविद्युत कम्पनीहरुको पुनःकर्जाको लागि राष्ट्र बैंकसँग छलफल गर्ने लगानीकर्ताहरुलाई आश्वासन दिएका छन् ।