काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीहरूले नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन अवज्ञा गरेका छन् । प्राधिकरणले १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिए पनि पुनर्बीमा कम्पनीहरू नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले निर्देशन अटेर गर्दै पुँजी वृद्धिको योजना पेस नगरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । पुँजी वृद्धिको योजना पेस गर्न दिएको समयावधि सकेको पनि आज चार दिन बढी भइसकेको छ । तर, पुनर्बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेस गरेका छैनन् ।
प्राधिकरणका अनुसार हालसम्म दुइटै पुनर्बीमा कम्पनीले पुँजी वृद्धि सम्बन्धी कुनै पनि योजना पेस गरेका छैनन् । हिमालयन पुनर्बीमाले वार्षिक साधारण सभाको सूचना सार्वजनिक गर्दै ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरे पनि सो विषयको औपचारिक जानकारी भने प्राधिकरणलाई गरेको छैन ।
‘कम्पनीहरूले अध्ययन गरेर योजना पेस गर्न भनेका थियौं । तर, हालसम्म पेस गरेका छैनन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘प्राधिकरणले निर्णय गरिसकेको छ, सरकारले कहिलेसम्म पुर्याउने भन्ने विषय रहन्छ, योजना पेस गर्ने समय थप पनि गरिएको छैन, कम्पनीले यसरी अवज्ञा गर्न मिल्दैन ।’
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल पुँजी वृद्धिको विषय छलफल कै क्रममा रहेकोले योजना पेस गर्न नसकेको बताउँछन् ।
अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेकाले आजको भोलि नै पुँजी वृद्धि गर्न नसकिने उनको भनाइ छ । प्राधिकरणलाई योजना पेस गर्ने समय थप गर्न माग गरेको पनि उनले बताए । उनका अनुसार कम्पनीको व्यवस्थापन समूहले योजना बनाइरहेको छ ।
‘अथमन्त्रीज्यूसँग छलफल भएको छ । तर, उहाँले केही भन्नु भएको छैन, अब हामी योजना बनाएर अर्थमन्त्रीज्यूसँग छलफल गर्छाैं, त्यसपछि निर्णय लिन्छौं,’ उनले भने, ‘१५ दिनको समय सकिएको हुँदा प्राधिकरणसँग थप समय मागेका छौं, मन्त्रालयसँग छलफल गर्न प्रयाप्त समय नभएकाले थप समय मागेका हौं, ५ अर्बको पुँजीलाई २० अर्ब पुर्याउन आजको भोलि सकिँदैन ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रेस सल्लाहाकार प्रकाश थापाका अनुसार अर्थमन्त्रीले पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका विषयमा कुनै निर्देशन दिएका छैनन् । प्राधिकरणसँग यस विषयमा छलफल गरेको भए पनि पुँजी वृद्धि गर्नुपर्छ भन्ने निर्देशन नदिएको जानकारी थापाले गराए ।
स्रोतका अनुसार पुनर्बीमा कम्पनीहरूलाई अर्थमन्त्रीले ग्रिन सिंग्नल दिएपछि प्राधिकरणको अवज्ञा गर्दै योजना पेस नगरेका हुन् ।
टप लेभल अस्वस्थ हुँदा समस्या
अहिले नियामक नेपाल पुनर्बीमा कम्पनीको उच्च तहका सबै कर्मचारी अस्वस्थ हुँदा समस्या देखिएको बुझिएको छ ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, सुशिल सुवेदी, सहायक निर्देशक केदारनाथ भट्ट लगायतका उच्च तहका कर्मचारी अहिले बिरामी बिदामा छन् ।
यस्तै, प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछाने पनि चार दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा गएका छन् । त्यसैले नेतृत्व गर्ने उच्च तहका कर्मचारीको अहिले अभाव हुँदा पुँजी वृद्धिको विषयमा प्राधिकरण केही बोलेको छैन ।