काठमाडौं, १३ पुस । सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार गर्नुपर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै बुधबार दुई घन्टा धर्ना दिएका हुन् ।

यस्तै सङ्घले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई यथाशीघ्र शाखा विस्तार गर्न दिनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने, गैरआवसीय नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने लगायतका माग राखेका छन् ।
सङ्घका अध्यक्ष उत्तम अर्यालले पूँजी बजारलाई आधुनिकतातर्र्फ लान नसक्नु दुःखद् कुरा भएको बताउँदै आफूहरुले राखेका माग आइतबारसम्म पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेपाल स्टक एक्सचेन्ज पुँजी बजारको बाधक नभई यसको विकास र विस्तारमा लागेको बताए । उनले भने, “नियम बनाउने निकाय नियम नबनाउने र तुरुन्त यस्तो काम गर भन्दा समस्या उत्पन्न भएको हो ।”
उनले वाणिज्य बैंकलाई ब्रोकर अनुमतिपत्र दिने कुरामा स्टक एक्सचेन्ज बाधक नभएको पनि स्पष्ट पारेका छन् ।