काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १ हजार ५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।
मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।
यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढ्नुमा विभिन्न कारण छन् । पछिल्लो समय लगानीकर्ताको सुनप्रतिको आकर्षण र भूराजनीतिक अवस्थाले पनि सुनको मूल्यमा प्रभाव पारिरहेको बुझिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले उच्च दरमा सुनमा लगानी बढाएका छन् ।