काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँसत दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।