काठमाडौं, १८ पुस । नेपाल आयल निगमको पुर्वाधार कोषमा पाँच महिनामै ३ अर्ब ५९ करोड रुपैंयाँ संकलन भएको छ । निगमले आफ्नो पुर्वाधार सुदृढिकरणका लागि भन्दै स्थापना गरेको पुर्वाधार कोषमा चालु आर्थिक बर्षको पाँच महिनामा ३ अर्ब ५९ करोड रुपैंयाँ जम्मा भएको हो । निगम श्रोतका अनुसार साउन देखि मंसिर १५ गतेको अवधीमा सो रकम जम्मा भएको हो ।
तर निगमले पुर्वाधार विकासका नाममा २०१७१ माघ देखि नै उपभोक्तासँग शुल्क असुल्दै आएको थियो । ५ महिनामै साढे तीन अर्ब भन्दा बढि रकम संकलन गरेको निगमले १९ महिनाको हिसाब किताब भने तयार गरेको छैन् ।
निगमको पुर्वाधार कोषमा कति रकम जम्मा भएको छ ? भन्ने प्रश्नको जवाफमा निगमका प्रवक्ता भानुभक्त खनालले भने–‘कति पैसा उठेको छ, हिसाब गरेका छैनौं तर ऋण तिर्न प्रयोग गरेको भने सत्य हो ।’
कति उठाउँछ निगम ?
निगमले हाल पूर्वाधार विकासका लागि भन्दै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर पाँच÷पाँच रुपैंयाँ असुलिरहेको छ । त्यस्तै, हवाई इन्धन तर्फ आन्तरिक र वाह्यमा प्रतिलिटर दश/दश रुपैंयाँ उठाउँदै आएको छ । निगमले खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ५० रुपैंयाँ उठाउँदै आएको छ । यसरी उपभोक्ताबाट संकलन गरिएको रकम हालसम्म अरबौं पुगिसकेको छ ।
उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन भन्छन–‘पूर्वाधार विकास कोषका लागि उपभोक्तासँग उठाएको पैसा नाफामा राखेर ऋण तिर्ने अनि बोनस खाने प्रयोजनका लागि खर्चिको छ, यो सरासर वित्तिय अपराध हो ।’
के केमा उठाउँछ निगमले पैसा ?
निगमले हाल पूर्वाधार विकास बाहेक अन्य चार शिर्षकमा पनि उपभोक्तासँग रकम असुलिरहेको छ । निगमले मूल्य स्थिरिकरण कोषका लागि पेट्रोलमा प्रति लिटर ५१ पैसा, डिजेल र मट्टितेलमा ३९/३९ पैसा, हवाई इन्धन आन्तरिक उडानमा ४३ पैसा र बाह्य उडानमा प्रति लिटर ४१ पैसा असुलिरहेको छ ।
त्यस बाहेक बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पनि निगमले डिजेल, पेट्रोल र आन्तरिक तथा बाह्य उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैंयाँ असुल्दै आएको छ । त्यस्तै, डिजेल र पेट्रोलमा प्रदुषण शुल्कका नाममा प्रतिलिटर ५० पैसा असुलिएको छ । सडक मर्मत सम्भार करका नाममा पेट्रोलमा ४ रुपैंयाँ र डिजेलमा २ रुपैंयाँ असुल्दै आएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भने निगमको कोषमा ४ अर्ब संकलन भएको निगमले श्रोतले बतायो ।