काठमाडौं, १८ पुस । काठमाडौं-बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीका लागि जारी गरिएको ग्लोबल टेण्डरको म्याद एक हप्ता थपिएको छ । रेल विभागले गत मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि उपयुक्त कम्पनी छान्न भन्दै ग्लोबल टेण्डर आव्हान गरेको थियो ।
‘काठमाडौं–बिरगञ्ज रेल मार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरको समय एक हप्ता थपेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले विकासन्युजसँग भने । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ ।विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ ।
समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ ।
सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।