
काठमाडौं । अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्सले भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । र, यसमा २५ नयाँ अर्बपति समावेश भएका छन् ।
यसैमध्येकी एक हुन् रेणुका जगतियानी । रेणुका भारतका १ सय धनी सूचीको ४४औं स्थानमा छिन् र उनको कुल सम्पत्ति करिब ५ अर्ब अमेरिकी डलरबराबर रहेको छ ।
अहिले उनी अर्बपतिको सूचीमा परेकी छिन्, जबकि, एक समय थियो उनका श्रीमान लन्डनको सडकमा क्याब चलाउने गर्थे ।
ल्यान्डमार्क ग्रुपका सीईओसँग यति धेरै सम्पत्ति
फोर्ब्सको शीर्ष १ सय भारतीय धनीको सूचीमा ४४औं स्थानमा परेकी रेणुका ल्यान्डमार्क ग्रुपकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् र उनको सम्पत्ति ४ अर्ब ८० करोड डलर अर्थात् ४ खर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ ।
ल्यान्डमार्क समूहको व्यवसाय धेरै देशमा फैलिएको छ । यसको मुख्यालय दुबईमा छ र यो कम्पनी रेणुकाले उनका स्वर्गीय पति मिकी जगतियानीसँग मिलेर स्थापना गरेकी थिइन् ।
फोर्ब्स २०२४ को धनी सूचीमा परेकी रेणुकाले ल्यान्डमार्क समूहलाई अगाडि बढाउन र ठूलो उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी छिन् ।
व्यापार क्षेत्रमा उनको कामलाई ध्यानमा राख्दै रेणुकालाई सन् २००७ मा ‘बेस्ट एसियन बिजनेस वुमन अफ द इयर’ र २०१२ मा ‘बिजनेस वुमन अफ द इयर’ जस्ता अवार्डबाट सम्मानित गरिएको थियो । धनीको सूचीमा हावी रहेकी रेणुकाको कथा निकै रोचक छ ।
लन्डनको सडकमा क्याब चलाउँथे श्रीमान
अर्बपतिको सूचीमा समावेश रेणुकाले आफ्नो जीवनमा धेरै ठूला उतार चढाव सामना गरेकी छिन् भन्ने उनका पति स्वर्गीय मिकी जगतियानीले कुनै समय सडकमा क्याब चलाएर आफ्नो जीविकोपार्जन गर्थे भन्ने तथ्यबाट यसको अनुमान लगाउन सकिन्छ ।
रिपोर्टका अनुसार मिकी सन् १९७० को दशकमा लन्डनमा क्याब ड्राइभर थिए र त्यहाँबाट उनी पहिले बहराइन र त्यसपछि दुबई गए । अनि, ठूलो व्यापार साम्राज्य निर्माण गरे जसको व्यवस्थापन श्रीमती रेणुकाले गरेकी छिन् ।
लन्डनमा क्याब सेवा दिने मिकी १९७३ मा आफ्ना आमाबुबा र भाइको आकस्मिक मृत्युपछि बहराइन सरेका थिए । जहाँ उनले आफ्नो भाइको खेलौना पसल व्यवस्थापन गर्न थाले ।
उनले झन्डै एक दशकसम्म बालबालिकाको खेलौना पसल चलाए र परिवार पाले । यसैबीच उनले आफ्नो खेलौनाको पसल पनि विस्तार गरिरहे र १० वर्षमा ६ वटा खेलौना पसल सुरु गरे । यसपछि खाडी युद्ध समाप्त भएपछि उनी दुबई पुगे र त्यहाँ आफ्नो ल्यान्डमार्क समूह सुरु गरे ।
श्रीमानको मृत्युपछि रेणुकाले सम्हालिन् व्यवसाय
ल्यान्डमार्क ग्रुपमार्फत मिकीले मध्यपूर्व र दक्षिण पूर्वी एसियामा फेसन, इलेक्ट्रोनिक्स, फर्निचर र होटल व्यवसायमा आफ्नो व्यवसाय विस्तार गरे ।
श्रीमानको निधनपछि रेणुकाले यो व्यवसायको जिम्मा लिइन् र १९९३ मा ल्यान्डमार्क ग्रुपमा प्रवेश गरिन् । तीन सन्तानकी आमा रेणुकासँग ४ अर्ब ८० करोड डलरको सम्पत्ति विरासतमा छ ।
अहिले यस समूहको अध्यक्ष रेणुका र तीनै सन्तान आरती, निशा र राहुल सञ्चालक समितिमा छन् ।
२१ देशमा फैलियो ल्यान्डमार्कको व्यापार
रेणुकाले ल्यान्डमार्क समूहको जिम्मा लिएपछि यसले द्रुत गतिमा आफ्नो व्यवसाय विस्तार गर्यो र आज कम्पनी विश्वका २१ देशमा २ हजार २ सयभन्दा बढी स्टोर सञ्चालनमा छन् ।
दुबईमा श्रीमानबाट पाएको व्यवसायलाई भारतमा अगाडि बढाउन रेणुकाको पनि महत्वपूर्ण भूमिका रह्यो ।
फोर्ब्सका अनुसार रेणुकाले १९९९ मा ल्यान्डमार्क ग्रुपको भारतीय व्यवसाय सुरु गरेकी थिइन् र अहिले कम्पनीका देशमा ९ सयभन्दा बढी स्टोर छन् ।
यससँगै ल्यान्डमार्क ग्रुपको होटल व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ र रेणुकाको सम्पत्ति पनि त्यही गतिमा बढिरहेको छ । एजेन्सी