पोखरा, २४ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कृषिको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने विषय काँग्रेसको प्राथमिकताको विषय भएको बताएका छन् ।
नेपाल किसान सङ्घ कास्कीको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले काँग्रेसले स्थापनाकालदेखि नै कृषिको विकासलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । सरकारमा पार्टीको नेतृत्व रहेका अवस्थामा कृषिको लागि उल्लेख्य बजेट छुट्याउने गरेको उनको भनाइ थियो ।
बिपी कोइरालाले आफ्नो छोटो समयमा सरकारको नेतृत्व गर्दा कृषिको दीर्घकालीन विकासका विभिन्न योजना अघि सारेको बताउँदै उनले त्यसपछिका काँग्रेस नेतृत्वका सरकारले पनि कृषि क्षेत्रको विकासलाई सधैँ आफ्नो प्राथमिकतामा राख्दै आएको बताए ।
आधुनिकीकरणका माध्यमबाट व्यावसायिक कृषिमा जोड दिँदै युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नु अपरिहार्य भएकोमा कोइरालाले जोड दिएका छन् । संविधानको कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेअनुसारका तीन तहको निर्वाचन गराउनु काँग्रेसको दायित्व भएको तथा विद्यमान समस्याको समाधान गर्दै देशलाई दिगो शान्ति र विकासका मार्गमा लैजान पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।
नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देलले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कृषिको आधुनिकीकरण र विकासका लागि ल्याएको २० वर्षे कृषि रणनीति कार्यान्वयनमा जोड दिए । नेपाल किसान सङ्घका केन्द्रीय सदस्यद्वय गणेश तिमल्सिना र अमृत श्रेष्ठले नेपाली कृषकका पीडा व्यथालाई सम्बोधन गर्नु सरकार तथा नेपाली काँग्रेसको दायित्व भएको बताए।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य वसन्ती घिमिरे, नेपाल किसान सङ्घ कास्कीका सभापति भेषराज पराजुली, नेपाल किसान सङ्घ कास्कीका पूर्वसभापति हीरामणि सुवेदी, सीता देवकोटा, ढकनाथ कँडेललगायतले कृषि क्षेत्रको सबलतामा नै काँग्रेस बलियो बन्न सक्ने कुरालाई पार्टीले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका थिए । । रासस