
एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाका रूपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धी सेवा सहज र सरलरूपमा दिनका लागि सम्झौता गरेका हुन ।
दुबै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरू मार्फत एलिट क्यापिटलका सेवा प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरूका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
यसबाहेक लगानीकर्ताहरूलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवम अनलाईन टिएमएस सेवासमेत उपलब्ध गराइने भएको छ ।
साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ ।
एलिट क्यापिटलले १९९९ रुपैयाँमा एकपटक खोलेपछि आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
उपत्यकाबाहिरका शाखाहरूमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरूबाट धेरै अनुरोध आएकाले सहजीकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएका छन् ।