बीमा प्राधिकरण र धितोपत्र बोर्डको चेपुवामा बीमा कम्पनीहरु, पुँजी वृद्धिमा सकस

<p>काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणबीच समन्वय नहुँदा पुँजी वृद्धि प्रक्रियामा रहेका बीमा कम्पनीहरू चेपुवामा परेका छन् । नियामक निकायबीच अन्तरसम्बन्ध राम्रो नहुँदा बीमा कम्पनीहरू मर्कामा परेका हुन् पुँजी वृद्धि गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ताकेता गरिरहेको छ । तर पुँजी वृद्धिको लागि अन्तिम स्वीकृति [&hellip;]</p>

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणबीच समन्वय नहुँदा पुँजी वृद्धि प्रक्रियामा रहेका बीमा कम्पनीहरू चेपुवामा परेका छन् । नियामक निकायबीच अन्तरसम्बन्ध राम्रो नहुँदा बीमा कम्पनीहरू मर्कामा परेका हुन्

पुँजी वृद्धि गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ताकेता गरिरहेको छ । तर पुँजी वृद्धिको लागि अन्तिम स्वीकृति दिने धितोपत्र बोर्डले बीमा कम्पनीहरुको फाइल रोकेर राखेको छ ।

जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपाल, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफले हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, सानिमा जीआईसी, यूनाईटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेका छन् ।

पुँजी वृद्धिका लागि हकप्रद सेयर निस्काशनको प्रस्ताव गरेका उल्लेखित कम्पनीहरुलाई बीमा प्राधिकरणले स्वीकृति दिएको छ । तर बीमा एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स, लाइफइन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लगायत दर्जनौ कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धि फाइलहरु सेबोनमा अड्कीएको छ ।

एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्न २०८० असोज २९ गते निवेदन पेस गरेको थियो भने एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर बेच्न अनुमति माग्दै २०८० कात्तिक २ गते सेबोनमा आवेदन दिएका थिए । ७ महिनाभन्दा बढी समय हुँदा पनि हकप्रद सेयर बिक्रीका लागि बोर्डले हालसम्म अनुमति दिएको छैन ।

एनएलजी इन्स्योरेन्सका सूचना अधिकारी नौमीनाथ अधिकारी हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति कुरिरहेको बताए । ‘सेबोनले अनुमति दिने बित्तिकै हकप्रद सेयर निष्काशन हुन्छ । सकेसम्म छिटो पुँजी वृद्धि गर्ने हाम्रो प्रयास रहेको छ’ उनले भने ।

‘हामीलाई हतार भइरहेको छ । छिटो अनुमति पायौ भने सहज हुने थियो’ उनले भने-‘कम्पनीले सबै प्रक्रिया पुर्याइसकेको छ । सेबोनमा अध्यक्षको तोक मात्रै बाँकी रहेको जानकारी छ ।’
बीमा प्राधिकरणले पुँजी वृद्धि छिटो गर्न दवाव दिईरहेको तर सेबोनमा फाइल अड्किएपछि केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरी कम्पनीले सबै प्रक्रिया पुर्यायसकेको बताउँछन् । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा निणर्य नभएको जवाफ दिने गरेको उनको भनाइ छ । पुँजी बजारमा सबैभन्दा ठूलो निकाय सेबोन भएको र सेवोनको स्वीकृति बीमा केही पनि गर्न नसकिएको उनले बताए ।

हाल कायम पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले गत फागुन २२ गते सेबोनसँग माग गरेको छ । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि गत चैत ६ गते सेबोनमा निवेदन पेस गरेको छ ।

विगत ४ महिनादेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ । अध्यक्ष नहुँदा सेयर निष्काशन सम्बन्धि सबै फाइलहरु अनिणर्यको बन्दी भएका छन् । धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले सेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष आएपछि मात्रै निणर्य हुने बताए । सञ्चालक समितिको बैठकमा पटकपटक एजेण्डा पेस गरेको भएपनि निणर्य हुन नसकेको उनको भनाइ छ ।

‘बोर्डको सञ्चालक समितिको अध्यक्षता रितेश शाक्यले गर्नु भएको हो । ३/४ पटक फाइल लिएर गयौं । तर, सञ्चालक समितिले निणर्य गर्न सकेन । त्यसैले नयाँ अध्यक्ष नआउँदासम्म निणर्य हुँदैन,’ उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल सेयर निष्काशनको विषय सेबोनको प्राथमिकतामा पर्ने बताउँछन् । प्राधिकरणले हकप्रद सेयर जारी गर्न बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेपछि बाँकी काम सेबोनको रहेको उनको भनाइ छ ।

‘सेयर निष्काशनको अनुमति दिने/नदिने सेबोनको कार्यक्षेत्रको विषय हो । हामीले सैद्धान्तिक स्वीकृति दिइसकेको हो । बोर्डले अध्ययन गरेर अनुमति दिन्छ होला, अहिले बोर्डको अध्यक्ष नभएर रोकिएको हुन सक्छ,’ उनले भने, ‘अन्य विषयमा प्राधिकरण र सेबोनबीच समन्वय भइरहन्छ ।’

अन्य नियामकले पुँजी वृद्धि गर्न नीतिगत निर्देशन दिएको र सम्बन्धित क्षेत्रको नियामकले सैद्धान्तिक स्वीकृति पनि दिएको अवस्थामा अध्यक्ष नहुँदा पनि धितोपत्र बोर्डले निणर्य गरिदिएको भए सम्बन्धित कम्पनीहरुलाई काम गर्न सजिलो हुने जानकारहरु बताउँछन् ।

कुन कम्पनीको कति ?

एलआईसी नेपालले चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँको ८८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २९ करोड पुँजी रुपैयाँको १७ प्रतिशत, सन नेपाल लाइफले ३ अर्ब ९६ करोड रुपैयाँको २७ प्रतिशत, एशियन लाइफले ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँको ४२ प्रतिशत, सानिमा रिलायन्स लाइफले ४ अर्ब १८ करोड रुपैयाँको २० प्रतिशत र सूर्यज्योति लाइफले ४ अर्ब ५४ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने छन् ।

यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सले चुक्ता पुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत, यूनाईटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँको ३२ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँको ६६ प्रतिशत र नेपाल इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छन् । हिमालयन रिइन्स्योरेन्सले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ ।

Share News