ब्याज आम्दानी र सम्पत्ति बिक्रीले बीमा कम्पनीको नाफामा उछाल, मर्जरको प्रभाव पनि देखिँदै

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बीमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा र १४ जीवन बीमा कम्पनीहरूको खुद नाफा ४९.३० प्रतिशतले बढेको हो । समग्र क्षेत्रमा आर्थिक मन्दीको असर परेको देखिए पनि बीमा क्षेत्रमा भने खासै असर नपरेकाे तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा २८ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बीमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा र १४ जीवन बीमा कम्पनीहरूको खुद नाफा ४९.३० प्रतिशतले बढेको हो । समग्र क्षेत्रमा आर्थिक मन्दीको असर परेको देखिए पनि बीमा क्षेत्रमा भने खासै असर नपरेकाे तथ्यांकले देखाउँछ ।

समीक्षा अवधिमा २८ वटा बीमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४९ करोड ७ लाख रुपैयाँ बढाएर १० अर्ब ५७ करोड ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत आर्थिक वर्षको चैतसम्म ७ अर्ब ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

बीमाकर्मीहरू पछिल्लो समय व्यवसाय कम भएपछि जोखिम व्यवस्थापन कम गर्नु परेकाले नाफा वृद्धि हुन पुगेको बताउँछन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आर्थिक मन्दीमा व्यवसाय घटेको भएपनि दाबी भुक्तानी कम भएकाले बीमा कम्पनीहरूको नाफा बढेको बताए ।

‘९ महिनामा बीमा कम्पनीहरूको नाफा बढेको छ, मन्दीमा व्यवसाय घटेको बेला दाबी भुक्तानीको अनुपात पनि कम हुन्छ, अधिकांश कम्पनीहरूको इन्भेष्टमेन्ट प्रोफिट राम्रो छ, चुक्ता पुँजी वृद्धि गर्दा केही कम्पनीको सेयरको किनबेचका कारण पनि नाफा देखिएको हो,’ उनले भने, ‘जलवायु परिवर्तन, बाढी पहिरोका कारण समस्या देखिएको छ, पुनर्बीमा कमिसन रेट र अण्डरराईटिङ नाफा कम छ ।’

बीमा कम्पनीहरूले दाबी नतिरेर नाफा बढायो कि भन्ने अधिकांशको सोच भएपनि दाबी भुक्तानीमा समस्या नरहेको उनको भनाइ छ । गत वर्ष ४० अर्बको दाबी भुक्तानी गरेका थिए भने चालु आर्थिक वर्षमा १६/१७ अर्ब भुक्तानी गरिसकेको उनले बताए ।

एक कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले अहिले अधिकांश कम्पनीले सेयर तथा अन्य सम्पत्ति बिक्री गरेको कारण नाफा वृद्धि भएको धारणा राखे । उनका अनुसार अधिकांश कम्पनीले सेयर तथा सम्पत्ति बिक्री गरेर अहिले नाफा बुक गरेका छन् ।

कात्तिकसम्म बैंकको ब्याज पनि राम्रै थियो, त्यसले पनि कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको छ, धेरैले सम्पत्ति बिक्री गरेर नाफा बुक गरेका छन्, मर्जर र मन्दीको समयमा खर्च घटाउँदा नाफामा त्यसको प्रभाव देखिएको छ, त्यस कारण पनि नाफा बढेको देखिएको हो,’ उनले भने ।

निर्जीवन बीमा कम्पनीहरूको नाफा साढे ५ अर्ब

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५५ प्रतिशत अर्थात् २ अर्ब ६७ लाख रुपैयाँ बढेर ५ अर्ब ६५ करोड १३ करोड रुपैयाँ आर्जन गरेका हुन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

समिक्षा अवधिमा दुई कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । नेशनल इन्स्योरेन्सको खुद नाफा भने तेस्रो त्रैमासमा १४ करोड १० लाख रुपैयाँ धनात्मक भएको छ । जबकी गत वर्ष २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । यस कम्पनीको २३७.१७ प्रतिशत बढेर ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, आईजीआई प्रुडेन्सियलको १८१.०३ प्रतिशत बढेर ४६ करोड ७६ लाख रुपैयाँ, हिमालयन एभरेष्टको १६२.८६ प्रतिशत बढेर ६० करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको १०९.६६ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको १०१.१३ प्रतिशत बढेर ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को ५५.३२ प्रतिशत बढेर ४७ करोड ५४ लाख रुपैयाँ, युनाइटेड अजोडको ४६.०५ प्रतिशत बढेर २७ करोड ४२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २६.२२ प्रतिशत बढेर ३९ करोड २ लाख रुपैयाँ, सानिमा जीआईसीको २१.७९ प्रतिशत बढेर २० करोड ९ लाख रुपैयाँ नाफा गरेका हुन् ।

द ओरियन्टेल इन्स्योरेन्सको १७.७१ प्रतिशत बढेर ४६ करोड १७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ३.२५ प्रतिशत बढेर १३ करोड ६७ लाख रुपैयाँ नाफा गरेका हुन् ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको देखिन्छ । राष्ट्रिय बीमाको २४.७८ प्रतिशत घटेर ५१ करोड ६३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १.६८ प्रतिशत घटेर ३७ करोड ७४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् ।

जीवन बीमाको ४३ प्रतिशत बढ्यो

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले भने झण्डै ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चैत सम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूको नाफा ४३.२० प्रतिशत अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ बढाएर ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

९ महिनाको अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स बाहेक सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै र सर्वाधिक नाफा कमाउनेमा एशियन लाइफ रहेको छ । यस कम्पनीको नाफा २५४.९१ प्रतिशत बढेर ६९ करोड ११ लाख रुपैयाँ आजैन गरेको छ ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ९३.७१ प्रतिशत बढेर २ करोड ४५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९२.९३ प्रतिशत बढेर ३० करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफको ८७.३५ प्रतिशत बढेर २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, आइएमई लाइफको ७५.७८ प्रतिशत बढेर ३३ करोड १५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को ७५.२६ प्रतिशत बढेर १९ करोड २४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३८.७४ प्रतिशत बढेर २६ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३.८९ प्रतिशत बढेर २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

नेशनल लाइफले ३०.२९ प्रतिशत बढेर ३८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफको २६.७० प्रतिशत बढेर २७ करोड ४ लाख रुपैयाँ, नेपाल लाइफको २२.२१ प्रतिशत बढेर ६० करोड ३ लाख रुपैयाँ, लियाबल नेपाल लाइफको १९.०९ प्रतिशत बढेर ३४ करोड २ लाख रुपैयाँ र सन नेपाल लाइफको ११.०५ प्रतिशत बढेर ४९ करोड ३६ लाख रुपैयाँ नाफा गरेका हुन् ।

तर, समीक्षा अवधिमा भने हिमालयन लाइफको नाफा सामान्य घटेको छ । यस कम्पनीको ७.९८ प्रतिशत घटेर ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Share News