काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच उनले राष्ट्रपति द्रौपडी मुर्मूसामुबाट शपथ लिएका हुन् ।
मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।
मोदी तेस्रो पटक प्रधानमन्त्री बनेसँगै उनको छिमेकी देशहरुसँगको सम्बन्धका विषयमा पनि धेरैले चासो राखेका छन् । उनले अब छिमेकी देश नेपाल सहित अन्य देशसँगको कुटनीतिक सम्बन्ध थप बलियो र सुदृढ बनाउँदै जाने बताएका छन् ।
प्रधानमन्त्री मोदीले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथ ग्रहण समारोहमा आमन्त्रण गरिएको पनि बुझिएको छ ।
मोदीको शपथ ग्रहण व्यापारी मुकेश अम्बानीसहितका व्यवसायीहरूको पनि उपस्थिति छ । मोदीले प्रधानमन्त्रीको शपथ लिएसँगै संघको मन्त्रीका रूपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जगत प्रकाश नड्डा, शिवराज सिंह चौहान, निर्मला सितारमण, एस जयशंकर, एचडी कुमार स्वामी, मनोहर लाल खट्टर, पियुष गोयल, धर्मेन्दर प्रधान, जीतनराम माझी, राजिब रञ्जन सिंह लगायतले शपथ ग्रहण गरेका छन् ।
त्यस्तै सर्वानन्द सोनोवाल, वीरेन्द्र कुमार, राममोहन नायडू, गिरिराज सिंह, जुएल ओराम, प्रल्हाद जोशी लगायतले पनि शपथ ग्रहण गरेका छन् ।