काठमाडौं, १२ माघ । नेपाल स्टक एक्सचेञ्जको वर्गिकरणमा सूचिकृत कम्पनीहरुको आकर्षण घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु वर्गिकरणका लागि नेप्सेले गरको आह्वानलाई १२४ वटा कम्पनीले वेवास्ता गरेका छन् । २२९ वटा कम्पनी मध्ये १०५ वटा कम्पनीले मात्र वर्गिकरणमा चासो देखाएका छन् ।
वर्गिकरणकाे लागि यसपाली नेप्सेले दिएको समय सिमा भित्र जम्मा १०५ वटा कम्पनीले मात्रै आवेदन दिएका छन् । ‘हामीले १५० वटा कम्पनीले आवेदन दिने अपेक्षा गरेका थियौं, तर अन्तिम समयमसम्ममा १०५ कम्पनीले मात्रै आवेदन दिएका छन’, नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजसँग भने ।
गत वर्ष क वर्गमा परेका २६ कम्पनीले यसपाली आवेदन नै दिएनन् । गत आर्थिक बर्ष २०७२/७३ सालमा १३१ वटा कम्पनी क वर्गमा वर्गिकृत भएका थिए । तीमध्ये यसपाला २६ वटा कम्पनीले आवेदन नै नदिएका हुन् ।
नेप्सेले माघ १० गते भित्र विवरण उपलब्ध गराउन सूचिकृत सबै कम्पनीहरुलाई समय दिएको थियो । सो अवधीसम्ममा गत बर्ष क वर्गमा परेका २४ दशमलब ७४ प्रतिशत कम्पनीले आवेदन नै नदिएका हुन् । सहायक प्रवक्ता पराजुलीले दिएको जानकारी अनुसार अधिकांश बाणिज्य बैंक र विकास बैंकले क वर्गमा सूचिकृत हुनका लागि आवेदन दिएका छन् ।
आवेदनका लागि केहि समय थपिने पनि उनले जानकारी दिए ।
नेप्सेको वर्गिकरणमा क वर्गमा पर्ने कम्पनीहरुको ब्राण्ड इमेज, कम्पनी भ्याल्यु र गुडविल बढाउन भन्दै वर्गिकरण गरिन्छ । तर यसपाली भने वर्गिकरणमा कम्पनीहरुको आकर्षण घटेको देखिन्छ । गत आवमा क वर्गमा परेका १३१ वटा कम्पनीहरु मध्ये २६ वटा बाणिज्य बैंक, ५६ विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, १७ वटा विमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, एउटा उत्पादन मुलक उद्योग, एउटा होटल र एउटा अन्य समुहको कम्पनी थियो ।
२ करोड मुल्यको साधारण सेयर, एक हजार साधारण सेयरधनी, तीन बर्षदेखि नाफामा सञ्चालित, सेयरको बुक भ्याल्यु (किताबी मुल्य) चुक्ता पुँजी भन्दा कम नभएको, आर्थिक वर्ष सकिएको ६ महिना भित्र आय व्यय विवरण नेप्सेमा पेश गरेका कम्पनीहरुलाई क वर्गको वर्गिकरणमा समावेश गर्ने व्यवस्था रहेको छ ।