युद्धले लग्यो बिजुली, अँध्यारोमा बाँच्न विवश युक्रेन

<p>काठमाडौं । रुस र युक्रेनको युद्ध जारी छ । युद्ध समाप्त गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै धारणा सार्वजनिक रूपमा राखेका छैनन् । यद्यपि, युद्ध समाप्त गर्न योजना बनाइरहेका खबरहरू भने बाहिरिरहेका छन् । रुसले लगातार युक्रेनको ऊर्जा क्षमता र प्लान्टमा आक्रमण गरिरहेको छ, जसका कारण युक्रेनका जनता लामो समयदेखि [&hellip;]</p>

काठमाडौं । रुस र युक्रेनको युद्ध जारी छ । युद्ध समाप्त गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै धारणा सार्वजनिक रूपमा राखेका छैनन् । यद्यपि, युद्ध समाप्त गर्न योजना बनाइरहेका खबरहरू भने बाहिरिरहेका छन् ।

रुसले लगातार युक्रेनको ऊर्जा क्षमता र प्लान्टमा आक्रमण गरिरहेको छ, जसका कारण युक्रेनका जनता लामो समयदेखि बिजुलीबिना बाँच्न सिकिरहेका छन् ।

बिजली कटौती र जीवन

बारम्बार रुसी हवाई आक्रमणले युक्रेनको पहिले अप्रभावित भागहरू पनि लगभग हरेक दिन घण्टौंसम्म बिजुलीविहीन रहन्छ ।

ओडेसाको दक्षिणी बन्दरगाह सहरमा बस्ने टेटियाना भन्छिन्, ‘अन्तहीन बिजुली कटौतीले जीवनलाई अत्यन्तै कठिन बनाएको छ, उनीहरूले बिजुली आपूर्ति निर्वाध रहोस् भनेर सुनिश्चित गर्न आवश्यक छ ।’

टेटियानासँग पेट्रोलबाट चल्ने जेनेरेटर छ । यो सधैं चलाउनुपर्छ, तर यसलाई चिसो बनाउन हरेक ६ घण्टा बन्द गर्नुपर्छ ।

बिजुली कटौतीले मोबाइल फोन कभरेजलाई पनि असर गर्छ, त्यसैले टेटियानाले आफ्नो छोराका लागि एम्बुलेन्सलाई सम्पर्क गर्न पनि कठिनाइहरूको सामना गनुपर्छ । उनको छोरा शारीरिक रूपमा असक्षम छन् । उनको छारालाई सास फेर्न, खान र औषधी लिनसमेत विद्युतीय उपकरणको भर पर्नुपर्छ ।

टेटियाना भन्छिन्, ‘कहिलेकाहीँ एम्बुलेन्स आउन आधा घण्टा लाग्छ, कहिलेकाहीँ एक घण्टा पनि लाग्छ, यस अवधिमा मेरो बच्चालाई धेरै समस्या हुन्छ र उसको शरीर नीलो हुन थाल्छ ।’

उनी थप्छिन्, ‘यदि मेरो छोरोले अक्सिजन पाएन भने उसको ज्यान जान सक्छ, मसँग बोल्ने शब्द छैन ।’

बिजुली अभावका कारण लाखौं युक्रेनीहरूले वातानुकूलित, लिफ्ट वा जीवन बचाउने उपकरणहरू ठिकसँग प्रयोग गर्न असमर्थ छन् ।

राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनर्गोले पछिल्लो तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट विद्युत उत्पादन क्षमता गुमाएको बताएको छ । यो फेब्रुअरी २०२२ मा पूर्ण मात्रामा आक्रमण हुनुअघि युक्रेनको क्षमताको एक तिहाइभन्दा बढी हो ।

युक्रेनर्गोले यो क्षमता नेदरल्यान्ड्स, स्लोभाकिया, लाटभिया, लिथुआनिया र इस्टोनियालाई चरम खपतको समयमा पनि ऊर्जा दिन पर्याप्त रहेको बताएको छ ।

‘राज्यको स्वामित्वमा रहेका सबै थर्मल पावर प्लान्टहरू ध्वस्त भएका छन्, हाम्रो देशका सबै जलविद्युत् केन्द्रहरूमा रुसी क्षेप्यास्त्र वा ड्रोन आक्रमणबाट क्षति पुगेको छ,’ युक्रेनर्गोका प्रवक्ता मारिया त्स्तुरियनले भनिन्, ‘जसका कारण लाखौं युक्रेनीहरू पेट्रोल र डिजेल वा ठूला पावर बैंकहरूमा चल्ने जेनेरेटरहरूमा बढी निर्भर हुँदैछन् ।’

राजधानी किभमा पनि विद्युत कटौती

युक्रेनको राजधानी किभमा पनि लामो समयदेखि विद्युत कटौती भइरहेको छ । रोकसोलाना २४ तले अपार्टमेन्टमा बस्छिन् । जनता एकजुट भएर अपार्टमेन्टको सुविधा सञ्चालन गर्न रोक्सोलानालाई चुनेका छन् ।

‘टावर ब्लकमा बस्न सजिलो छैन किनभने बिजुली कटौतीले पानी माथिल्लो तलामा पुग्न सक्दैन,’ रोकसोलाना भन्छिन्, ‘लिफ्ट पनि चल्दैन, त्यसैले बालबालिका, वृद्ध महिला र अपाङ्गता भएकाले बिजुली कुर्नुपरेको छ, उनीहरू बिजुली आएपछि मात्र बाहिर जाने योजना बनाउँछन् ।’

रोकसोलानाले आफू लगातार ६ घण्टा घरभित्रै बस्नुपर्ने बताइन् । उनी भन्छिन्, ‘हाम्रा वृद्ध महिलाहरू रोटी किन्न पसलमा जान पनि सक्दैनन् ।’

युक्रेनमा अग्लो भवनहरूमा बस्ने बासिन्दाहरू गर्मीमा पनि अपार्टमेन्टमा बस्न बाध्य छन् किनभने बिजुलीबिना, एयर कन्डिसनरहरू पनि चल्दैनन् ।

अग्ला भवनहरूमा बस्ने मानिसहरू रुसी हवाई आक्रमणबाट पनि बढी जोखिममा छन् । बम आक्रमणबाट जोगाउन बनाइएका ठाउँहरूमा समेत उनीहरू सजिलै पुग्न सक्दैनन् । बम आक्रमणबाट जोगाउन निर्माण गरिएका अधिकांश ठाउँहरू भूमिगत छन् ।

जापोरिझियाका दन्तचिकित्सक भोलोडिमिर स्टेपानिभ भन्छन्, ‘कहिलेकाहीँ अपोइन्टमेन्टहरू स्थगित गर्नुपर्ने हुन्छ । धेरै पटक यस्तो हुन्छ कि जटिल शल्यक्रिया गर्दा पनि बिजुली जान्छ ।’

यदि शल्यक्रियाको क्रममा बिजुली कटौती भयो भने जेनेरेटर चलाएर शल्यक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको स्टेफानिभ बताउँछन् । यस बाहेक उनीहरूसँग अर्को विकल्प छैन, किनकि बिरामीलाई भोलि फेरि आउन भन्न पनि सकिँदैन ।

टर्चको उज्यालोको सहाराले उपचार

डाक्टर स्टेफानिभले बिजुली बन्द हुँदा महत्त्वपूर्ण कम वा जटिल अप्रेसनका लागि हेड टर्च प्रयोग गर्छन् । स्टेफानिभले फ्रन्ट लाइनमा रहँदा सिपाहीहरूको उपचार गर्दा यो विधि सिकेका थिए र अहिले त्यसमा निपुण भएका छन् ।

उनको फर्मले अझै पनि युक्रेनी सेनाका सदस्यहरूलाई निःशुल्क वा भारी छुटमा उपचार प्रदान गर्दछ । स्टेफानिभ दाँत दुख्ने वा सुन्निने रोगको उपचार बिजुलीविना पनि गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले बिजुलीविना शल्यक्रिया गर्न सिकेका छौं ।’

यूक्रेनेर्गोकी प्रवक्ता मारियालाई थाहा छ कि धेरै पटक र यति लामो समयका लागि बिजुली काटेकोमा ग्राहकहरू उनको कम्पनीसँग क्रोधित छन् ।

‘हामीसँग अर्को विकल्प छैन । हामी युद्धमा छौं, ऊर्जा क्षेत्र रुसी आतंकवादीहरूको लक्ष्य हो र यो किन स्पष्ट छ भने हाम्रो सम्पूर्ण जीवन बिजुलीमा आधारित छ,’ उनी भन्छिन्, ‘उनीहरूको लक्ष्य आफ्नो शत्रुको पावर ग्रिडलाई नष्ट गर्नु हो, त्यसपछि तिनीहरूको अर्थतन्त्र र जीवन हुनेछैन, र, यो त्यो मूल्य हो जुन हामीले आफ्नो स्वतन्त्रताका लागि चुकाएका छौं ।’ बीबीसी

Share News