काठमाडौं, १४ माघ । गत साता बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा २० देखि ३५ प्रतिशत व्याज बढाए । अघिल्लो सातासम्म बैंकहरुले निक्षेकर्ताले १० प्रतिशत व्याज दिएका थिए । गत साता एनसीसी, एनआईसी, ग्लोवल आईएमई लगायत वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप आह्वान गरे ।
वाणिज्य बैंकहरुले व्याज बढाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि असर पर्यो । ९ प्रतिशत व्याज दिदै आएको कैलाश विकास बैंकले १२ प्रतिशत व्याज प्रस्ताव गर्यो । अधिकांश राष्ट्रिय स्तरका विकास बैंकहरुले १२ प्रतिशत व्याज दिने प्रस्ताव गरे । गुडविल फाइनान्सले निक्षेपकर्तालाई १३.५ प्रतिशत व्याज प्रस्ताव गरेको छ ।
बैंकहरुले निक्षेपको व्याजदर वृद्धि गर्दा निक्षेपकर्तालाई लाभ भएको छ । तर सेयर बजारमा त्यसको उल्टो प्रभाव पर्यो । यस साता मात्र सेयर बजार ९० अंकले घट्यो । मुद्दती व्याजमा २० देखि ३५ प्रतिशत वृद्धि हुँदा सेयर बजार करिव ६ प्रतिशतले झरेको छ । आईतबार १४६५ मा रहेको नेप्से परिसूचक विहीबार १३७५ अंकमा झरेको छ ।
यस साता नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर दुई अर्ब २२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो । गत साता एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता १५५ कम्पनीहरुको एक करोड ६६ लाख ६७ हजार सेयरहरु खरिद बिक्री भएका छन् ।