काठमाडौं, १४ माघ । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले इलाका कार्यालय विर्तामोड-झापा, इटहरी-सुनसरी, लहान-सिरहा, बर्दिवास-महोत्तरी, बीरगंज-पर्सा, गठ्ठाघर-भक्तपुर र घोराही-दाङ्गमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो ।
भक्तपुरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बैंकले सदस्यहरुको जीबनस्तर उठाएको, गरिबी न्यूनिकरण गर्न सहजीकरण गरेको, बित्तीय पहुँच नपुगेको स्थानमा लघुवित्त बैंकहरु पुगेकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्यहरुलाई भरपर्दो सेवा पुर्याउन बैंक तत्पर रहेको बताए ।
समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु व्यवसायी, वचतकर्ता, केन्द्र प्रमुख तथा शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, एसएलसी परीक्षामा ग्राहक सदस्यका उत्कृष्ठ छोराहरुबाट २ जना तथा छोरीहरु २ जना गरी जम्मा ४ जना छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो । साथै, कर्मचारीका छोरा छोरीहरु मध्ये एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ४ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो ।
बैंकले हाल ४९ जिल्लाका १२३ कार्यालय मार्फत २ लाख ९ हजार ७ सय ४७ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल लगानीमा रहिरहेको कर्जा ६ अर्व ९९ करोड रुपैयाँ रहेको छ ।