काठमाडौं, १६ माघ । नेपाल धितोपत्र बोर्डले फेवा विकास बैंक लिमिटेडलाई आस्वाको सदस्यता प्रदान गरेको छ । यस प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्कासन हुँदाका बखत खरिद गर्न चाहने बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्वन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखिनेछ ।
धितोपत्र बाँडफाँड भए पछि निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्वन्धीत धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्वन्धीत खाताधनीले पूर्ववत रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकको केन्द्रिय कार्यालय सहित आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट खाताधनी लगानीकर्ताले सहज, सरल र झण्झटमुक्त ढंगबाट सार्वजनिक निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा पाउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।