काठमाडौं । केही दिन यता सेयर बजारमा निकै उतारचढाव देखिएको छ । सोमबार ६५ अंकले झरेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ । त्यस्तै, मंगलबारको सेयर बजारमा पनि उतारचढाव देखिएको छ । सेयर कारोबार शुरु भएको एक घन्टामै नेप्से परिसूचक बढेर १३३४ अंकमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा फेरि घटेर १२९३ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ दशमलब ९० अंकले बढेर १३२६ अंकमा अडेको छ ।

सो दिन १३७ कम्पनीको १६ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ५२ करोड ८५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
बजारमा बीमा र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १०९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ, उत्पादमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २५, १९ र १३ अंकले उकालो लागेका छन् । बीमा र अन्य समूहको परिसूचक क्रमशः २८ र ०.२९ अंकले ओरालो लागेका छन् ।
मंगलबार साल्टी होटल र श्री राम मिल्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।