काठमाडौं । भारतमा बियर खपत लगातार बढिरहेको छ । योसँगै देशमा बियर बजार पनि तीव्र गतिमा बढिरहेको छ । सन् २०२८ सम्म भारतीय बियर बजार ६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ बराबर पुग्ने अपेक्षा गरिएको छ ।
तर, बियरको प्रतिव्यक्ति खपतको हिसाबले भारत अझै पनि विश्वको बाँकी देशको तुलनामा धेरै पछाडि छ । भारतमा प्रतिव्यक्ति वार्षिक दुई लिटर बियर खपत हुन्छ भने युरोपेली देश चेक गणतन्त्रमा प्रत्येक व्यक्तिले एक वर्षमा १ सय ४० लिटर बियर खपत गर्छ ।
यतिमात्र होइन, विश्वका १० सबैभन्दा मूल्यवान बियर ब्रान्डलाई हेर्दा कुनै पनि भारतीय ब्रान्ड यसमा समावेश छैन । यो सूचीमा अमेरिकाको वर्चसश्व छ । यसमा मेक्सिको र जापानका दुई–दुई ब्रान्ड, चीन र हल्यान्डका एक–एक ब्रान्ड छन् ।
मेक्सिकन ब्रान्ड ‘कोरोना एक्स्ट्रा’ यस सूचीमा पहिलो नम्बरमा छ । यसको बजार मूल्य १० अर्ब ४० करोड डलर बराबर छ । यो बियर मेक्सिकन कम्पनी ग्रुपो मोडेलोले उत्पादन गरेको हो र यो विश्वका विभिन्न देशमा निर्यात गरिन्छ ।
हल्यान्डको बियर ब्रान्ड हेइनकेन यस सूचीमा दोस्रो स्थानमा छ, जसको मूल्य ९ अर्ब डलर छ । अमेरिकी ब्रान्ड बुडवाइजर र बड लाइट तेस्रो र चौथो स्थानमा छन् । तिनीहरूको बजार मूल्य क्रमशः ७ अर्ब ४० करोड डलर र ५ अर्ब ४० करोड डलर छ ।
यस्तै, मेक्सिकन ब्रान्ड मोडेलो स्पेसलको बजार मूल्य ५ अर्ब २० करोड डलर, त्यसपछि चीनको स्नोको ४ अर्ब ३० करोड, अमेरिकाको कुर्सको ३ अर्ब ३० करोड, जापानको आसाही ३ अर्ब १० करोड, किरिन ३ अर्ब १० करोड र अमेरिकाको मिलर लाइटको बजार मूल्य २ अर्ब ९० करोड डलर बराबर छ ।
युरोपेली देश चेक रिपब्लिकमा बियरको प्रतिव्यक्ति खपत विश्वमा सबैभन्दा बढी छ । यस देशमा प्रत्येक व्यक्तिले एक वर्षमा १ सय ४० लिटर बियर खपत गर्दछन् ।
सबैभन्दा बढी बियर पिउने सन्दर्भमा, १० मध्ये ९ देश युरोपका छन् । चेक गणतन्त्र बाहेक यसमा अस्ट्रिया, रोमानिया, जर्मनी, पोल्यान्ड, आयरल्यान्ड, स्पेन, क्रोएसिया र लाटभिया पर्छन् ।
शीर्ष १० मा परेको एक मात्र गैर–युरोपेली देश नामिबिया हो । यो अफ्रिकी देशमा हरेक व्यक्तिले वार्षिक ९५.५ लिटर बियर पिउने गर्छन् । यो सूचीको पुछारमा इन्डोनेसिया रहेको छ । यस इस्लामिक देशमा बियरको वार्षिक खपत ०.७ लिटर छ ।
किंगफिसर भारतको सबैभन्दा ठूलो बियर ब्रान्ड हो जसको बजार हिस्सा लगभग ४७ प्रतिशत छ । एजेन्सी