
काठमाडौं । एक बर्षभित्रै देशभरका पुलहरुको बीमा हुने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले पुल तथा अन्य भौतिक संरचनाहरुको एक बर्षभित्रै बीमा गराउन निर्देशन दिएको हो । ‘राष्ट्रिय यातायात सञ्जालका लागि महत्वपूर्ण पुलहरु तथा अन्य भौतिक पूर्वाधारहरुको बीमा १ वर्षभित्र गराइ सक्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ ।
सडक विभागका अनुसार हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र करिब तीन हजार पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेछन् । पुलहरुको दिर्घ जिवन र लगानीको उचित प्रतिफल वितरणका लागि पनि बीमा अनिवार्य रहेको समितिको ठहर छ ।
समितिको बैठकमा सांसदहरुले हावाले उडाउने कस्तो पुल बनाएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई र्याख र्याख्ती पारेका थिए । पुलनहरु निर्माणकै चरणमा भत्किने, पुल निर्माण भैसकेपछि नदिले धार परिवर्तन गरेर अन्यत्रै जाने लगायतका समस्यहरुको दिर्घकालिन समाधान खोज्न पनि समितिले निर्देशन दिएको छ ।
‘बाढिले पुल बगाउनुलाई स्वभाविक भन्न सकिएला तर हावाले टेको खस्दा निर्माणाधीन पुल खस्नु, बनाउँदा बनाउँदै संरचनागत समस्या सृजना हुनु, पुल पनि बनिसक्नु अनि खोलाले अन्यत्रै धार परिवर्तन गर्नुलाई के भन्ने ?’ सांसदहरुले उठाएका प्रश्नहरुलाई सस्ंलेषण गर्दै विकास समितिले आफ्नो निर्देशनमा भनेको छ ।
समितिले आगामी ५० बर्षसम्मको सवारी चापलाई धान्ने गरि पुलहरुको निर्माण गर्न पनि भनेको छ । त्यस्तै, नगरेर कालो सूचिमा राखिएका निर्माण व्यवसायीको सूचि एक हप्ता भित्रै उपलब्ध गराउन पनि समितिले सडक विभागलाई निर्देशन दिएको छ ।