ओलम्पिकलाई कोका-कोलासँगको सम्बन्ध तोड्न सुझाव

<p>काठमाडौं । ओलम्पिक आयोजकलाई कोका–कोलासँगको सम्बन्ध तोड्नु पर्ने दुई जना स्वास्थ्य विशेषज्ञले बताएका छन् । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूले यस्तो बताएका हुन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोट्र्स वास’ गर्न अनुमति दिएको बताएका हुन् । अन्तर्राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । ओलम्पिक आयोजकलाई कोका–कोलासँगको सम्बन्ध तोड्नु पर्ने दुई जना स्वास्थ्य विशेषज्ञले बताएका छन् । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूले यस्तो बताएका हुन् ।

उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोट्र्स वास’ गर्न अनुमति दिएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोका–कोलासँगको साझेदारीमा भने गर्व गरेको छ । कम्पनीले भने चिनीरहित पेयपदार्थ पनि उपलब्ध गराएको बताएको छ ।

फ्रान्सको राजधानीमा हुने प्रतियोगितामा कोका–कोलाको सर्वव्यापी फिजी पेयहरूको विज्ञापन समावेश छ । कोका–कोलाले सन् १९२८ देखि ओलम्पिकलाई प्रायोजन गर्दै आएको छ । तर, विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थहरूले ‘थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन्’ र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्द्धन गर्न खेलमा कुनै स्थान छैन ।

चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बिएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेखेका छन् ।

कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोगमा पनि योगदान पुर्याएको उनीहरूको तर्क छ ।

‘कोका–कोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिकले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ,’ लेखकहरूले भनेका छन्, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोका–कोलासँग सम्बन्ध तोड्ने समय आएको छ ।’

Share News