चीनको स्वास्थ्य क्षेत्रमा पहिलाे पटक शतप्रतिशत विदेशी लगानी खुला

<p>काठमाडौं । अन्य देशमा लगानी गरेर आफ्नो अधिकार स्थापित गरेको चीन पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । चीनले कोरोना भाइरस महामारीपछि ठूलो आर्थिक संकटको सामना गरिरहेको समाचार बेलाबेला बाहिरिने गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सबै राम्ररी चलिरहेको छ त? भन्ने प्रश्न पनि बेलाबेला उब्जिरहेका हुन्छन् । ब्लुमबर्गको एक रिपोर्टअनुसार चीनले विदेशी [&hellip;]</p>

काठमाडौं । अन्य देशमा लगानी गरेर आफ्नो अधिकार स्थापित गरेको चीन पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । चीनले कोरोना भाइरस महामारीपछि ठूलो आर्थिक संकटको सामना गरिरहेको समाचार बेलाबेला बाहिरिने गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सबै राम्ररी चलिरहेको छ त? भन्ने प्रश्न पनि बेलाबेला उब्जिरहेका हुन्छन् ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार चीनले विदेशी लगानीका लागि आफ्नो ढोका पूर्णरूपमा खोल्ने भएको छ । चीनले पाकिस्तान, नेपाल, श्रीलंकालगायत देशमा ठूलो लगानी गरिरहेका बेला आफ्नै देशमा लगानीका लागि अन्य देशको भर पर्नुपरेको हो ।

रिपोर्टका अनुसार चीनको अर्थतन्त्र अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ । एकातिर धेरै कम्पनीले चीन छाडिरहेका छन् भने अर्कातर्फ चीनले अहिले उत्पादनमा अन्य देशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ब्लुमबर्गका अनुसार आफ्नो अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन चीनले उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोलेको छ । चीनले कुनै पनि क्षेत्रमा शतप्रतिशत विदेशी लगानीलाई अनुमति दिएको यो पहिलो पटक हो ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले जारी गरेको एक सूचनाअनुसार चीनले नोभेम्बर १ देखि उत्पादन र स्वास्थ्य क्षेत्रमा विदेशी लगानीका लागि ढोका खोल्ने जनाएको छ । अहिलेसम्म यी क्षेत्रमा शतप्रतिशत विदेशी लगानी आउन सकेको छैन । यति मात्र होइन, चीनले विदेशी लगानीका सम्बन्धमा केही नियमहरू पनि खुकुलो बनाउने छ ताकि लगानीमा कुनै समस्या नहोस् ।

एनडीआरसीले सरकारले सेवा उद्योगको विस्तार र यसमा विदेशी लगानीको पहुँचलाई प्रोत्साहन गर्ने कुरा गरेको पनि बताएको छ । यसबाहेक चीनले आफ्नो स्वास्थ्य सेवा क्षेत्रलाई थप खुला गर्न विभिन्न नीतिहरू पनि घोषणा गरेको छ ।

वाणिज्य मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिअनुसार बेइजिङ, सांघाई, गुआङ्डोङ र हाइनानमा स्टेम सेल, जीन डायग्नोसिस र उपचारलाई समेट्ने प्रविधि विकास र प्रयोगमा विदेशी पुँजीलाई सहभागी हुन अनुमति दिइने छ ।

‘सरकारले चीनमा पूर्णरूपमा विदेशी स्वामित्वका अस्पतालहरू स्थापना गर्न पनि अनुमति दिनेछ,’ विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

Share News