काठमाडौं । नेपाल सरकारले समाजका बिभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई प्रत्येक बर्षको जेठ १५ गते बिभिन्न मानपदवी, अलंकार र पदकले सम्मान गर्दै आएको छ । २०६४ साल जेठ १५ गते मुलुक गणतन्त्र घोषणा भएपछि यो क्रम सुरु भएको थियो । त्यस अघि प्रजातन्त्र दिवसका दिन समाजमा योगदान गर्नेहरुलाई विभुषित गरिँदै आएको थियो ।
सरकारले गृह मन्त्रालयको सिफारिसमा प्रत्येक बर्ष सयौंलाई त्यस्तो मानपदवी, अलंकार र पदक दिन्छ । तर यस्तो मानपदवी, आलंकार र पदक निर्माणका लागि राज्यले ठुलै धनराशी खर्च गर्दै आएको छ । चालु आर्थिक बर्षमा मात्रै सरकारले पदक तथा विभुषण निर्माणका लागि भनेर ११ करोड २७ लाख रुपैंयाँ बजेट उपलब्ध गराएको छ ।
अर्थ सचिव शान्तराज सुवेदीका अनुसार सो रकम बजेटमा कहीँ पनि राखिएको छैन् । त्यसका लागि आवश्यक पर्ने रकम बर्षेनी अर्थ मन्त्रालयले रकमान्तर गरेर उपलब्ध गराउँदै आएको छ । ‘गृह मन्त्रालयले दिने विभुषणका लागि बजेट राख्ने चलन रहेनछ, यसपाली ११ करोड २७ लाख रुपैंयाँ रकमान्तर गरेर उपलब्ध गराएका छौं’, अर्थ सचिव शान्तराज सुवेदीले भने । गृह मन्त्रालयका अनुसार त्यस्ता बिभुषणका लागि बर्षेनी १० देखि १५ करोड खर्च हुने गरेको छ ।
मन्त्रालयले फागुन १५ देखि सिफारिसका लागि देशभरका कार्यालयहरुमा पत्राचार गर्छ । आएका निवेदनका आधारमा मन्त्रालयको छनौट समितिले चयन गरेर मन्त्रि परिषदमा पेश गर्ने व्यवस्था छ । मन्त्रि परिषदले पास गरेपछि जेठ १५ गते त्यस्ता विभुषणको घोषणासँगै प्रधान गरिन्छ ।
मानपदवी अलंकार तथा पदक प्रदान गर्न विभुषण ऐन २०६४ का अनुसार ४ वटा मानपदवी, ९ वटा अलंकार र १३ वटा पदक रहेका छन् । नेपाल रत्न मानपदवी, राष्ट्र गौरव मानपदवी, राष्ट्रदिप मानपदवी छन । त्यस्तै ९ वटा अलंकारमा राष्ट्र यशोवद्र्धन, परम पौरख भास्कार अलंकार, नेपाल प्रताव शुभुषण अलंकार, नेपाल सेवा प्रविण अलंकार, अति पौरख भास्कार अलंकार, समाज सेवा रत्न अलंकार, महापौरख भास्कर अलंकार, नेपाल प्रताप भुषण अलंकार छन् ।
त्यस्तै, १३ वटा पदकमा लोक श्री पदक, राष्ट्र सेवा पदक, सत्कार्य पदक, समाज सेवा पदक, शिक्षा ज्योति पदक, सगरमाथा पदक, सुकिर्त पदक, विरता पदक, सौर्य पदक, प्राकृतिक प्रकोप पिडितोद्धार पदक, विकासरत्न पदक, शान्ति पदक र विज्ञान पदक रहेका छन् ।