विमानस्थलमा सुन तस्करी गर्ने यो अचम्मको तरिका, करोडौं मूल्यको तस्करीमा एयरपोर्ट स्टाफ संलग्न

<p>काठमाडौं । विमानस्थलमा हुने सुन तस्करीसँग सम्बन्धित धेरै समाचार आउने गर्दछन् । कसैले पेटमा लुकाएर सुन ल्याउँछन् त कसैले शरीरको अन्य भागमा लुकाउँछन् । जहिले पनि तस्करहरू पक्राउ पर्छन्, तिनीहरू प्रायः यात्रीहरू नै हुन्छन् । तर, विमानस्थलका कर्मचारीले सुन तस्करी गर्लान् ? त्यो पनि यात्रा बिना ! के यो सम्भव छ ? भारतको मुम्बई एयरपोर्टमा [&hellip;]</p>

काठमाडौं । विमानस्थलमा हुने सुन तस्करीसँग सम्बन्धित धेरै समाचार आउने गर्दछन् । कसैले पेटमा लुकाएर सुन ल्याउँछन् त कसैले शरीरको अन्य भागमा लुकाउँछन् । जहिले पनि तस्करहरू पक्राउ पर्छन्, तिनीहरू प्रायः यात्रीहरू नै हुन्छन् । तर, विमानस्थलका कर्मचारीले सुन तस्करी गर्लान् ? त्यो पनि यात्रा बिना ! के यो सम्भव छ ?

भारतको मुम्बई एयरपोर्टमा यस्तै एउटा घटना बाहिर आएको छ । त्यहाँको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई कर्मचारीलाई राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको छ । उनीहरूमाथि सुन तस्करीको आरोप छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले यो तस्करी बिना यात्रा गरेका हुन् । यी दुई सदस्यमध्ये एक जना महिला हुन् । महिलाको साथबाट ३ किलोभन्दा बढी सुन बरामद भएको छ । यसको बजार मूल्य २.५ करोड भारुभन्दा धेरै छ ।

एयरपोर्टबाट बाहिर निस्कने प्रयास

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार पक्राउ परेका दुई सदस्यमध्ये एक ग्राउन्ड ह्यान्डलिङ स्टाफ मेम्बर हुन् । दोस्रो अभियुक्त महिला हुन् । उनी एयरपोर्टमा ग्राहक सेवा कार्यकारी पदमा कार्यरत थिइन् ।

विमानस्थलमा सुन तस्करी हुने जानकारी डीआरआई अधिकारीलाई प्राप्त भएको थियो । सुन तस्करीमा संलग्न भएको आशंकामा विमानस्थलको एक्जिट गेटमा एक महिला कर्मचारीलाई प्रहरीले रोकेकाे थियाे । यी महिला सेलेबी नास एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडकी कर्मचारी हुन् ।

पेस्टको रूपमा सुन फेला

महिलाको शरीरमा छानबिन गर्दा उनको साथबाट ३ हजार ३५० ग्राम (३.३५ केजी) सुन पेस्ट (घोल)का दुईवटा प्याकेट बरामद भएको थियो । प्याकेटको मूल्य लगभग २.६७ करोड भारु छ । यो सुन भन्सार ऐन, १९६२ अन्तर्गत बरामद गरिएको हो । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्करीका लागि यो विधि

महिलासँग सोधपुछ गर्दा उनले तस्करी गर्ने तरिका सुन्दा छक्क पर्न सक्नुहुन्छ । यो तस्करीमा विमानस्थलमा कार्यरत ग्राउन्ड ह्यान्डलिङ स्टाफको पनि संलग्नता रहेको छ ।

ग्राउन्ड ह्यान्डलिङ स्टाफले उक्त सुन फ्लाइट नम्बर ईवाई २०० मा रहेको फोहोर बोक्ने गाडीबाट निकालेका थिए । त्यसपछि उनले त्याे सुन महिलालाई दिए । त्यसपछि ती महिलाले आफ्नो एरोड्रोम इन्ट्री परमिट (एईपी) प्रयोग गरेर विमानस्थलबाट बाहिर तस्करी गर्ने प्रयास गरिन् । तर अनुसन्धानका क्रममा उनी पक्राउ परिन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार दुवैले विशेष सिन्डिकेटका लागि तस्करीमा सघाएको देखिएको छ । यद्यपि सम्पूर्ण विवरण भने थप अनुसन्धानपछि मात्र थाहा हुनेछ । (एजेन्सीको सहयोगमा)

Share News