
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिका तीव्र गतिमा ऋणको भारमा थिचिँदै गएको बताएका छन् । उनको भनाइले सारा अमेरिका तर्सिएको छ । उनले यो समस्या समाधान नभए डलरको मूल्य नरहने चेतावनीसमेत दिए ।
इकोनोमिक टाइम्सका अनुसार अमेरिकी मुद्रा डलरले आगामी दिनमा ठूलो झट्का सामना गर्न सक्नेछ । किनभने अमेरिकामा ऋणको बोझ लगातार बढिरहेको छ ।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्नुअघि नै अमेरिकाको ऋण रेकर्ड स्तरमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको हो । यो वर्ष दुई ट्रिलियन डलरले ऋण बढेको छ ।
जीडीपीको प्रतिशतको रूपमा घाटा खर्च दोस्रो विश्वयुद्धको स्तरमा पुगेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन ।
२४ वर्षमा ६ गुणा ऋण बढ्यो
पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।
देशको ऋण जीडीपीको करिब १२५ प्रतिशत छ। अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट छ ।
तत्काल आवश्यक उपायहरू नअपनाएको खण्डमा अमेरिकाको अर्थतन्त्र धरासायी हुनेछ ।
के मस्क र ट्रम्पले बचाउलान् ?
एलन मस्क र डोनाल्ड ट्रम्पबीचको मित्रताबारे सबैलाई थाहा छ । मस्कले चुनावमा ट्रम्पलाई खुलेरै समर्थन गरेका थिए । चुनाव जितेपछि ट्रम्पले मस्कलाई पुरस्कार पनि दिएका थिए । ट्रम्पले ट्रम्प र विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखको रूपमा नियुक्त गरे । यस विभागको काम अनियन्त्रित सरकारी खर्च कटौती गर्ने हो ।
अमेरिकाको ब्याज भुक्तानी अमेरिकी सेनामा खर्च गर्नेभन्दा बढी भएको मस्क बताउँछन् । उनले यसलाई ठूलो समस्या भनेका छन् । मस्कले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति निम्त्याउने दाबी पनि गरे । यसलाई सकेसम्म चाँडो समाधान गर्न आवश्यक छ । अन्यथा, डलरको बल छोटो समयमा उल्लेखनीय रूपमा कमजोर हुनेछ ।
अब डीओजीईले के-कसरी काम गर्छ, त्यो भने हेर्न बाँकी छ ।