काठमाडौं । राष्ट्रिय च्याउ दिवस पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागेको हो ।
कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा स्टलहरूमा च्याउसंग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी रहने अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।
मेला आयोजना हुने दिन बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिनेछ । मेलामा च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा प्रदर्शनी गरिने समेत संघले जनाएको छ ।
गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ । बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको उपस्थितीमा विशेष सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।
मेलामा प्रवेश निशुल्क रहेको र च्याउका परिकारहरू निशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उनले बताए ।
नेपालमा हाल च्याउ खेतिमा करिब ३५ हजार किसानहरू आवद्ध रहेको समेत संघले जानकारी दिएको छ । नेपालभरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए । साथै नेपालमा अहिलेसम्म च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको उनले जानकारी दिए ।
संघका अनुसार नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।