ट्रम्पको योजनाले रकेट बन्यो क्रिप्टो, भोलिदेखि झन् बढ्नसक्ने प्रक्ष्येपण

<p>काठमाडौं । क्रिप्टोकरेन्सी फेरि चर्चामा आएको छ । यसको कारण हो- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भोलि अर्थात् जनवरी २० मा हुने शपथग्रहण । ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथ लिनेछन् । उनले शपथ लिएपछि क्रिप्टोकरेन्सीसँग सम्बन्धित केही घोषणा गर्न सक्ने बुझिएको छ । यही कारणले नै पछिल्ला ५ दिनमा क्रिप्टोकरेन्सीमा ठूलो उछाल [&hellip;]</p>

काठमाडौं । क्रिप्टोकरेन्सी फेरि चर्चामा आएको छ । यसको कारण हो- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भोलि अर्थात् जनवरी २० मा हुने शपथग्रहण । ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथ लिनेछन् ।

उनले शपथ लिएपछि क्रिप्टोकरेन्सीसँग सम्बन्धित केही घोषणा गर्न सक्ने बुझिएको छ । यही कारणले नै पछिल्ला ५ दिनमा क्रिप्टोकरेन्सीमा ठूलो उछाल आएको छ ।

त्यसैगरी, ट्रम्पले शुक्रबार ट्रम्प मिम कोइन लन्च गरेका थिए । यो कोइन लन्च हुनासाथ यसमा ८ हजार प्रतिशत उछाल आएको थियो । ट्रम्पका साथी एलन मस्क लगायत धेरै व्यक्तिहरू ट्रम्प प्रशासनसँग जोडिएका छन् । यिनीहरू पनि क्रिप्टोकरेन्सीका समर्थक हुन् ।

जानकारहरूका अनुसार यस्तो अवस्थामा बिटकोइनलगायत अन्य क्रिप्टोकरेन्सीमा पनि आउने समयमा तीव्र उछाल आउन सक्छ ।

ट्रम्पको योजना

जानकारहरूका अनुसार ट्रम्पले आफ्नो कार्यकालको पहिलो केही दिनमा क्रिप्टोकरेन्सी कम्पनीहरूमाथि लाग्ने नियामक बोझलाई कम गर्न सक्छन् । साथै उनले डिजिटल करेन्सी अपनाउन प्रोत्साहन गर्नेसम्बन्धी केही घोषणा गर्न सक्छन् ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको सत्ता सम्हालेपछि क्रिप्टो सल्लाहकार परिषद् बनाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गर्न सक्छन् । ब्लुमबर्ग न्युजले पनि स्रोतमार्फत यसबारे समाचार प्रकाशित गरेको थियो । यो परिषद्ले सरकारलाई क्रिप्टोमैत्री नीतिमा सल्लाह दिन मद्दत गर्नेछ । यसमा २० सदस्य हुन सक्छन् ।

क्रिप्टोमा कति आयो उछाल ?

पछिल्ला ५ दिनमा क्रिप्टोकरेन्सीमा ठूलो उछाल देख्न पाइएको छ। हेरौं, ५ दिनमा कुन प्रमुख क्रिप्टोकरेन्सीमा कति उछाल आयो ।

बिटकोइन

बिटकोइनले फेरि एक लाख डलरको आँकडा पार गरिसकेको छ । आइतबार बिहान ११ बजे यसको मूल्य १.०५ लाख डलर थियो । यसमा पछिल्लो ५ दिनमा ८ प्रतिशतभन्दा बढीको उछाल आएको छ ।

डगकोइन

यो क्रिप्टोकरेन्सीले पनि उचाइ लिन थालेको छ । अहिले यसको मूल्य ०.३९ डलर छ । पछिल्लो ५ दिनमा यसमा करिब १० प्रतिशतको उछाल आएको छ ।

लाइटकोइन

यसमा पनि पछिल्लो केही समयदेखि निकै तेजी देखिएको छ । अहिले यसको मूल्य करिब १२० डलर छ । ५ दिनमा यसमा १७ प्रतिशतभन्दा बढी उछाल आएको छ ।

रिपल

यो क्रिप्टोकरेन्सी पनि पछिल्लो केही समयदेखि रकेट बनेको छ । अहिले यसको मूल्य ३.१८ डलर छ । ५ दिनमा यसमा १९ प्रतिशतभन्दा बढीको उछाल आएको छ ।

सोलाना

यो क्रिप्टोकरेन्सी निकै तीव्र गतिका साथ अघि बढिरहेको छ । पछिल्लो २४ घण्टामा यसमा जबरजस्त उछाल आएको छ । अहिले यसको मूल्य २६९.६० डलर छ । ५ दिनमा यसमा करिब ४५ प्रतिशतको तेजी आएको छ ।

Share News